बझाङको खप्तड छान्ना गाउँपालिका– ५, मतुवाका भरतबहादुर सिंहको १ वैशाखमा मृत्यु भयो । पोस्टमार्टम गरी सदरमुकाम चैनपुरबाट फर्काउँदा उनकाे शव एमालेकाे झण्डाले छाेपिएकाे थियाे । ‘पार्टीलाई योगदान गरेको अभिभावकका रूपमा दलले सम्मान गरेकाे हाे । बुबाको शव जलाइसकेपछि मसानघाटमा झण्डा टाँगेर फर्कियौँ’, छोरा विजयकुमार सिंहले भने । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ का बिर्जबहादुर बमको पनि कोल्टीमा […]
"/> मरेपछि सम्मान दिएको रे : लासमा पार्टीको झण्डा ओढाउँछन्, मसानघाटमा लगेर फहराउँछन् – शिंजापति

मरेपछि सम्मान दिएको रे : लासमा पार्टीको झण्डा ओढाउँछन्, मसानघाटमा लगेर फहराउँछन्

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ १२:0८:४६
मरेपछि सम्मान दिएको रे : लासमा पार्टीको झण्डा ओढाउँछन्, मसानघाटमा लगेर फहराउँछन्

बझाङको खप्तड छान्ना गाउँपालिका– ५, मतुवाका भरतबहादुर सिंहको १ वैशाखमा मृत्यु भयो । पोस्टमार्टम गरी सदरमुकाम चैनपुरबाट फर्काउँदा उनकाे शव एमालेकाे झण्डाले छाेपिएकाे थियाे । ‘पार्टीलाई योगदान गरेको अभिभावकका रूपमा दलले सम्मान गरेकाे हाे । बुबाको शव जलाइसकेपछि मसानघाटमा झण्डा टाँगेर फर्कियौँ’, छोरा विजयकुमार सिंहले भने ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ का बिर्जबहादुर बमको पनि कोल्टीमा हृदयाघातबाट मृत्यु भयो । उनको शवलाई कोल्टीबाट नेपाली कांग्रेसको झण्डा ओढाएर घरसम्म लगियो । त्यसको भोलिपल्ट पिलुचौर मसानघाट लगेर अन्तिम संस्कार गरियो । पहिले शवलाई ओढाइएको झण्डा अहिले मसानघाटनजिकैको रुखमा फहराइरहेकाे छ ।

बझाङकाे खप्तड छान्ना गाउँपालिकाकाका भरतबहादुर सिंहलाई मसानघाट लैजाँदा एमालेको झण्डा ओढाइएकाे थियाे । फोटोः निमेन्द्र शाही ।

जगन्नाथ गाउँपालिका– ४, गोत्रीका नयाँराम विकको मृत्युपछि पोस्टमार्टम गरेर गाउँ फर्काउँदा उसैगरी माओवादीको झण्डा ओढाइएको थियो । कर्णालीस्थित मसानघाटमा पुर्‍याएपछि उनलाई छोपेर लगेको झण्डा मसानघाटनजिकै  टाँगियो ।

केही वर्षयता गाउँमा लासलाई पार्टीको झण्डा ओढाएर त्यसमाथि दाबी ठोक्न होडबाजी नै चलेको छ । ‘यहाँका मसानघाट छेउछाउका बगरमा पहिले सेता कपडा र कात्रोहरू भेटिन्थे । अहिले पार्टीका  झण्डाहरू मात्र भेटिन्छन्’, कर्णाली नदीनजिकै बस्ने सरि शाहीले भने, ‘यो राजनीति पनि अचम्मकै हुँदो रहेछ, मसानघाटलाई समेत नछोड्ने ।’

उनका अनुसार राजनीतिलाई लिएर गाउँमा भट्टी पसलदेखि चिया चौतारासम्ममा झगडा हुने गरेको छ । ‘मसानघाट बाँकी थियो, त्यहाँ पनि पस्यो राजनीति’, स्वामीकार्तिक खापर गाउँपालिका–४, छापुका गोरे गिरीले भने ।

स्वामीकार्तिक खापर गाउँपालिकाको पिलु मसानघाटका रुखमा टाँगिएका विभिन्न पार्टीका झण्डा । फोटोः निमेन्द्र शाही । 

नागरिक समाज कोल्टीका संयोजक जनेश भण्डारीलाई पनि मसानघाटमा दलका झण्डा टाँगिएको चित्त बुझेको छैन । भन्छन्, ‘धेरैजसो मसानघाट मठमन्दिरको छेउमा छन्, यस्ता ठाउँमा पार्टीका झण्डा र प्रचार सामग्री देखिँदा सन्देश राम्रो जाँदैन ।’

बाजुराका मसानघाट पिलु पादुका, बेर्मा, बालुवा, कवाडीघाट, भौनेरा, बाउँली खोला र बुढीगंगाको तटमा अहिले पार्टीका झण्डा जताततै भेटिन्छन् ।

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ १२:0८:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।