हिमाली भेगमा हिउँद यामको चिसो केही घटेको छ । हिमपात हुनुअगावै भेडापालक किसान आफ्ना लालाबालासहित औलतिर लागेका थिए । अहिले उनीहरू केही समय छोडेको हिमाली बस्तीतिर लागेका छन् । हिउँदमा न्यानो खोजी गर्दै औलतिर भेडाच्याङ्ग्रासहित बसाईं सरेकाहरू गर्मी बढेको महसुस गर्दै ‘लेक’ फर्कीएका हुन् । बाजुराको दक्षिणी भेगमा पर्ने बार्जुगाड, अछामको साँफे बगरलगायतका ठाउँमा बाक्लो […]
"/>हिमाली भेगमा हिउँद यामको चिसो केही घटेको छ । हिमपात हुनुअगावै भेडापालक किसान आफ्ना लालाबालासहित औलतिर लागेका थिए । अहिले उनीहरू केही समय छोडेको हिमाली बस्तीतिर लागेका छन् ।
हिउँदमा न्यानो खोजी गर्दै औलतिर भेडाच्याङ्ग्रासहित बसाईं सरेकाहरू गर्मी बढेको महसुस गर्दै ‘लेक’ फर्कीएका हुन् ।
बाजुराको दक्षिणी भेगमा पर्ने बार्जुगाड, अछामको साँफे बगरलगायतका ठाउँमा बाक्लो बस्ती देखिन छोडेको छ । साँफेदेखि कोल्टीसम्म औलतिरबाट लेक जानेहरूको लर्को देखिन्छ । उनीहरू भेडा, चौरीगाई र गोरुलाई ओढ्ने-ओछ्याउने, भाँडाकुडा, लत्ताकपडा बोकाएर बाटो लागिरहेका छन् ।
बाजुराको हिमाली गाउँपालिका– १ गुम्बा गाउँका लाक्पा थापा (भोटे) चिसो छलेर परिवारसहित औलबाट घर जाँदै छन् । उनी ६ जनाको परिवार तथा भेडाच्यांग्रा र घोडा लिएर उत्तरी भेगमा रहेको आफ्नो वस्तीतिर लागेको बताउँछन् ।
थापासँगै गुम्भा तथा अरु गाउँका १५ परिवार पनि हिमाली भेग फर्किएका छन् । बसाईं सर्ने क्रममा उनीहरू गन्तव्य नपुगुन्जेल नदी तथा खोला किनार र भेडाच्याङ्ग्राको चरन भएको ठाउँमा बास बस्छन् ।
यी परिवारले घाँसपातले चारैतिरबाट बारेर बीचमा ठड्याएको प्लास्टिक पालभित्र हिउँद बिताएका थिए ।
‘गाउँमा चिसो बढ्ने र पेट पाल्न पनि समस्या हुने भएकाले औलतिर झर्छौं,’ बुढीनन्दा नगरपालिका– ९ डब्क गाउँका जीवन थापाले भने, ‘यता गाउँतिर हिउँ पर्न थाल्छ, काम पनि हुँदैन र छाक टार्न पनि सजिलो हुने भएकाले औलतिर झर्ने गरेका हौँ ।’
पुर्खौंदेखि यही परम्परा चल्दै आएको थापाले बताए । अधिकांश परिवारहरू हिउँदे यामभरि घरको ढोका बन्द गरेर औलतिर झर्ने भएकाले गाउँघर सुनसान हुने थापाले बताए ।
चिसो छल्न आएकाहरूको यो बसाई बढीमा वैशाखसम्म हुने हिमाली गाउँपालिका–१ बिच्छयाँका ज्याबल थापा बताउँछन् । दक्षिणी क्षेत्रका बाह्रबिस, ब्रम्हतोला, कुल्देवमाडौंलगायत छिमेकी अछामका विभिन्न ठाउँलाई बाजुराको हिमाली र लेकाली भेगमा बसोबास गर्नेहरू न्यानो बस्तीलाई औल भन्छन् ।
औलतिर सरेको अवधिमा बालबालिकाको पढाइ छुट्छ । ‘गाउँ-घर छोड्नुपर्ने भएकाले हाम्रा बालबालिकाले विद्यालय पनि छाड्नैपर्छ,’ लाप्का थापाले भने ।
उच्च हिमाली भेगमा चिसोका कारण हिउँदे अन्न उत्पादन हुँदैन । ‘हिमपात हुने भएकाले अन्नपात फल्दैन र चिसोले बस्नै नसकिने हुन्छ,’ भोटे जनजाती सेवा समितिका केन्द्रीय अध्यक्ष गम्भीरसिंह गुरुङ भोटे भन्छन्, ‘भेडाच्याङ्ग्रा पालन मुख्य व्यवसाय हुने भएकाले चरन समस्याले हिउँदमा तल जानैपर्ने हुन्छ ।’
हिमपात हुनुअगावै चिसो सुरु हुनासाथ मंसिर तेस्रो सातातिर उनीहरू बेंसी झर्न थाल्छन् र यो क्रम पुस महिनासम्म चन्छ । अनि फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म उनीहरू लेक जाने चलन छ ।
घट्दै छ भेडापालन
बाजुरामा तिन वर्षअघि ४० हजारभन्दा बढी भेडा रहेको तथ्याङ्क थियो । अहिले त्यो संख्या घटेर २१ हजार ७ सय २३ मा झरेको छ । पछिल्लो समय युवाहरू बाख्रा र कुखुरा पालनमा लागेका छन् ।
बाजुरामा बाख्राको संख्या ९० हजारको हाराहारीमा छ । ३० भन्दा बढी आधुनिक कुखुरा पालन फर्म छन् । वार्षिक २५ हजारको हाराहारीमा कुखुरा उत्पादन हुँने भेटरीनरी अस्पताल तथा विज्ञ केन्द्रका निमित्त प्रमुख शिद्धराज जोशी बताउँछन् ।
‘भेडा पालन व्यवसाय घट्दो छ । मुख्य गरी सामुदायिक वनका कारण चरन अभाब छ । सरकारले लेकाली भेगमा हुँने घासको प्रबधन नगर्नु, युवाहरु कृषि पेशामा नलाग्नु, शहरकेन्द्रित बसाईले यो समस्या आएको हो,’ जोशीले भने ।
बडिमालिका नगरपालिका– ७ ढम्कनेका बलबिर सिंह गुरुङ केही वर्षअघि ५ सयभन्दा बढी भेडाको बथान लिएर लेक-बेसी गरेको सम्झन्छन् । तर उनले अहिले त्यो व्यवसाय छाडेका छन् । गुरुङले सदरमुकामा मोबाइल पसल खोलेका छन् ।
‘हाम्रो दिनमा भेडाबाट राम्रो आम्दानी थियो । अहिले समय फेरियो छोराछोरी पढाउँनु पर्यो, जंगलको पैसा तिर्नु पर्यो खासै फाइदा हुँदैन,’ गुरुङले भने ।
बुढीनन्दा नगरपालिका– १० पाण्डुसैनका चन्द्र बहादुर विष्टले पनि भेडा पाल्न छोडेर होटल खोलेका छन् । ‘आजभोलि भेडा पाल्न कठिन छ । कहीँ दु:ख भएन भने भेडा पाल्नु पर्छ । अहिले यस्तो दु:ख कसले गरोस् खासै फाइदा समेत हुँदैन त्यही भएर होटलतिर लागेको हुँ,’ विष्टले भने ।