निमेन्द्र शाही  मुगुको खत्याड गाउँपालिका– १, रातापानीबाट ज्यान बच्ने आशामा उपचारका लागि सुविधासम्पन्न स्थानमा लैजान बाजुराको कोल्टी विमानस्थल ल्याइएका बिर्खलाल कार्कीको दुई दिनदेखि जहाज कुर्दाकुर्दै बुधबार मृत्यु भयो । जहाज कुर्दाकुर्दै ज्यान गुमाउँने उनी मात्र होइनन् । हरेक महिना मुगु, बाजुरा र हुम्लाको तल्लो क्षेत्रका बिरामी आफन्तलाई बोकेर कोल्टीसम्म ल्याउँछन् तर लामो समयसम्म जहाज नआएपछि […]
"/> कोल्टी विमानस्थल, जहाँ जहाजभन्दा पहिले काल आउँछ – शिंजापति

कोल्टी विमानस्थल, जहाँ जहाजभन्दा पहिले काल आउँछ

  • शिंजापति न्युज
  • बुधबार, साउन १०, २०८० १७:४५:२९
कोल्टी विमानस्थल, जहाँ जहाजभन्दा पहिले काल आउँछ

निमेन्द्र शाही  मुगुको खत्याड गाउँपालिका– १, रातापानीबाट ज्यान बच्ने आशामा उपचारका लागि सुविधासम्पन्न स्थानमा लैजान बाजुराको कोल्टी विमानस्थल ल्याइएका बिर्खलाल कार्कीको दुई दिनदेखि जहाज कुर्दाकुर्दै बुधबार मृत्यु भयो । जहाज कुर्दाकुर्दै ज्यान गुमाउँने उनी मात्र होइनन् । हरेक महिना मुगु, बाजुरा र हुम्लाको तल्लो क्षेत्रका बिरामी आफन्तलाई बोकेर कोल्टीसम्म ल्याउँछन् तर लामो समयसम्म जहाज नआएपछि फर्किंदा लास लिएर फर्किन्छन् ।

स्थानीय धर्मबहादुर शाहीले भने, ‘उच्च रक्तचापको समस्या जटिल देखिएपछि कार्कीलाई थप उपचारका लागि नेपालगञ्ज वा धनगढीमध्ये कहीँ सिटी स्क्यानसहितको सुविधा भएको अस्पतालमा लैजान रातापानी प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेको थियो । जहाज नआउन्जेलसम्मका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको थियो । पैदल जाऊँ भने सडक छैन, त्यही भएर जहाज कुरेका थियौँ, जहाँजभन्दा काल पहिला आयो ।’

जहाज कुर्दाकुर्दै जेठ पहिलो साता ३ दिनको अवधिमा रिफर गरिएका २ जना बिरामीको ज्यान गएको थियो । बुढीनन्दा नगरपालिका ३ का अग्नि बोहरा र जगन्नाथ गाउँपालिका १ की ऐना गिरीलाई जहाज नआएपछि पैदलमार्गबाट धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । जेठ  हिमाली गाउँपालिका– ७ का देवीदत्त जोशी र जगन्नाथ गाउँपालिका– १ का लालबहादुर रोकायाको जहाजको पर्खाइ हुँदाहुँदै जेठ ७ गते एकै  दिन ज्यान गएको थियो ।  जेठ ७ गते बुढीनन्दा १० का निवर्तमान वडा अध्यक्ष सतवीर बोहराको पनि जहाज कुर्दाकुर्दै मृत्यु भएको थियो ।

जहाजभन्दा काल पहिला आयो 

रिफर गरिएका कार्कीलाई सुविधासम्पन्न अस्पताल लैजान आफन्तले जहाज आउने आकाश हेरिरहेका थिए । वर्षात्‌का कारण मार्तडी–कोल्टी सडक खण्ड र कर्णाली कोरिडोरको सडक अवरुद्ध भएकाले आफन्त जहाज कुरी बसेका थिए । रिफर गरिएको दुई दिनसम्म पनि जहाज नआएपछि आफन्तले हेलिकोप्टरको समेत जोहो गर्ने प्रयास गरेका थिए । सडकबाट सम्भव नभएको, जहाज नआएको र हेलिकोप्टरसमेत मौसमका कारण नआउने अवस्था भएपछि कार्कीले प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गुमाए ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रतीक न्यौपानेले भने, ‘उच्च रक्तचापसहितको समस्याले मान्छे चिन्न र बोल्नसमेत नसक्ने अवस्था भएकाले सिटी स्क्यान नगरी उपचार सम्भव थिएन, हामीसँग त्यो सुविधा छैन, हामीले रिफर गर्‍यौँ, जहाज आएन, सडकबाट लिन झन् सम्भव नै थिएन । दुर्भाग्य, बचाउन सकिएन । तीन महिनायता मात्रै चार जनाको जहाज कुर्दै ज्यान गएको  छ ।’

यता नागरिक उड्डयन कार्यालय कोल्टीले मौसम खराबीका कारण जहाज नआएको बताएको छ । घाम लागेकै दिन पनि नियमित तालिका मिचेर अर्को ठाउँको उडान भर्ने विमान कम्पनीले यतिबेला मौसमलाई दोष देखाउन झनै सजिलो उपाय बनेको छ ।

लामो समयपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले डाक्टर पाएको छ । जिल्ला अस्पतालमा स्थायी दरबन्दी नहुँदा पनि कोल्टीले स्थायी दरबन्दीको डाक्टर पाएको छ ।

keystoneglobalnetwork
Hero New year offer

तर भवन, उपकरण, सुविधा र आवश्यक संरचना नहुँदा डाक्टरलाई समेत उपचार सेवा दिन वातावरण नै छैन । ‘बिरामी राख्ने बेड नै हुँदैन, भवन नै छैन्, डाक्टर भएर मात्रै कहाँ हुन्छ ?,’ डाक्टर प्रतीकको भनाइ छ ।

बिरामीले जहाज पर्खी बसे पनि उनीहरूका लागि काल पहिला आउने र विमानपछि हुने अवस्था योपटक पनि निरन्तरता पाएको स्थानीयसमेत रहेका नेकपा एमाले नेता जनककुमार विष्टले बताएका छन् । सिजनमा हवाई कम्पनीले बाजुराको कोल्टी उडान प्रभावित गर्ने गरेका छन् । पूर्वमा राम्रो आम्दानी हुने भएपछि यताको उडान तालिका नै रद्द गरेर अन्यन्त्र जाँदा यहाँका बिरामीले अकालमै ज्यान गुमाउनुपरेको अवस्था छ ।

उसो त कोल्टी विमानस्थलमा मौसम खराबीबाहेक सातै दिनको उडान तालिका छ । सीता एयर बिहीबार, तारा सोमबार, नेपाल एयर मंगलबार र बाँकी दिन समिट एयरले उडान भर्ने तालिका छ । बाजुरादेखि नेपालगञ्जसम्मको हवाई उडान समय ३० देखि ३५ मिनेटको हुने गरेको छ ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले भने, ‘एकाध घण्टाभित्रै उपचार सेवा दिनुपर्ने बिरामीलाई दुर्गम क्षेत्रबाट पठाउनै सम्भव नहुने भएकाले अकालमै ज्यान गुमाउनुर्ने बाध्यता यहाँका स्थानीयलाई छ । पालिकाका तर्फबाट सकेको प्रयास गरिएको र लामो समयदेखिको डाक्टरविहीनताको अवस्थाबाट मुक्त गराएर सकेको सेवा प्रवाह भइरहेको हो ।’

प्रकाशित: बुधबार, साउन १०, २०८० १७:४५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।