सहरबजारमा ठूला मान्छेका पुतलादहन प्रदर्शन हुन्छन्– कसैलाई जिस्क्याउन, विरोध जनाउन र होच्याउन । तर, सुदूरका पहाडमा त्यही पुतला किसानको अन्न जोगाउने सारथि बनेको छ । त्यही पुतलालाई यहाँका स्थानीयले ‘भयाउँन्या’ भन्ने गर्छन् । यो प्रचलन पुर्खौंदेखि चलिआएको छ । तर, पछिल्लो समय यसकाे प्रचलन केही कम हुँदै आएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– ३, जुकोटका कुवेर सिंहले […]
"/>सहरबजारमा ठूला मान्छेका पुतलादहन प्रदर्शन हुन्छन्– कसैलाई जिस्क्याउन, विरोध जनाउन र होच्याउन । तर, सुदूरका पहाडमा त्यही पुतला किसानको अन्न जोगाउने सारथि बनेको छ । त्यही पुतलालाई यहाँका स्थानीयले ‘भयाउँन्या’ भन्ने गर्छन् । यो प्रचलन पुर्खौंदेखि चलिआएको छ । तर, पछिल्लो समय यसकाे प्रचलन केही कम हुँदै आएको छ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– ३, जुकोटका कुवेर सिंहले लेकको बारीभरि आलु लगाएका छन् । हेरचाह गर्न कहिले काहीँ मात्र गए पुग्छ । उनको बारीमा बनाएको ‘भयाउँन्या’ले चराचुरुङ्गी र जनावरबाट आलु जोगाइदिएकै छ । सुदूरका सबै जिल्लामा काठको मान्छेको आकृति बनाएर खेतको बीचमा राखेका हुन्छन् ‘भयाउँन्या’ । त्यसैलाई देखेर जनावर र चराचुरुङ्गी खान आउँदैनन् ।
सिंहले भने, ‘मैले बारीमा वन्यजन्तु आउने बाटाहरूमा भयाउँन्या राखेको छु र चरा चुरुङ्गीका लागि बीचमा पनि गाडेको छु । महिनामा कहिलेकाहीँ हेरविचार गर्न आउँछौँ । नत्र यही भयाउँन्याले काम गरेको छ । यो साह्रै सहयोगी बनेको छ । शहर बजारमा राजनीति गर्नेहरूले पुतला भनेर बुझ्छ्न् र जलाउँछन् । हामीले त यहाँ त्यसैलाई संरक्षण गरेका छौँ ।’
डडेलधुराको अमरगढी नगरपालिकामा ठूलो लगानी गरेर सुरु गरेका विनोद जोशीको कृर्षि फार्ममा भयाउँन्याको प्रयोग गरिएको छ । जोशीले भने, ‘भयाउँन्या परम्परागत उपाय हो । यसले अहिले पनि महत्त्वपूर्ण काम गरिरहेको छ । आधुनिक प्रविधिमा इन्धनको आवश्यकता हुन्छ र पोलुसन पनि । तर, भयाउँन्याका लागि पुराना कपडा झुण्ड्याए काम चलिहाल्छ । चराचुरुङ्गी र अन्य वन्यजन्तुबाट बाली जाेगिएकाे छ ।’
दार्चुलाको मार्मा गाउँपालिकाका दिपेन्द्र धामीले पनि खेतमा गहुँ चराले खाने डरले ‘भयाउँन्या’ गाड्न थालेका छन् । उनले भने, ‘हामो खेत गाउँको बीचमा छ । यहाँ वन्यजन्तुको डर हुँदैन । तर, चराचुरुङ्गीले असाध्यै सताउँछन् । त्यही भएर भयाउँन्या लगायो भने राहत हुन्छ । मान्छे छ भनेर चराहरू आउँदैनन् । गाउँले सबैले आ–आफ्नो खेतबारीमा ‘भयाउँन्या’ लगाउन सुरु गरेका छन् ।’
बाजुराको बडिमालिका नगरपालिका–७, ढम्कनेका लोकेन्द्र रोकायाले पनि बारीमा ‘भयाउँन्या’ गाडेका छन् । उनले भने, ‘हाम्रो गाउँ जंगलको नजिक छ । बँदेल, भालु र ‘दुम्सी’ले आलु खाइदिन्छ । रातभर जाग्राम बसेर हेर्नुभन्दा ‘भयाउँन्या’ बनाएर छोडियो भने ढुक्क हुन्छ ।’
जंगली जनावरले सताउने बस्तीहरूका लागि अन्न जोगाउने सजिलो उपायका रूपमा परम्परादेखि कृषिक्षेत्रमा प्रयोग हुने यो उपायलाई संरक्षण गर्न जरुरी छ । मान्छेले दु:ख गरी लगाएको अन्न बाली जोगाउन यति सजिलो उपायको प्रयोग गर्ने हो भने किसानले राहत पाउने कुरा कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जोशी बताउँछन् ।