उनले १९५० को दशकमा क्युवाको तत्कालिन बाटिस्टाको सत्ता पल्टाउन फिडेल क्यास्ट्रोको सहायता गरे । उनले क्यास्ट्रोको शासनको समयमा मुख्य राजनीतिक कार्यलयहरु सम्हालेका थिए । पछि ग्वेभारा बोलिभियामा समेत गुरिल्ला संघर्षमा सहभागी भएका थिए, जहाँ उनलाई पक्राउ गरी हत्या गरियो ।
बाल्यकाल
सन् १९२८ मे १४ (औपचारिक जन्म दर्ता भने जुन १४) मा रोजारियो, अर्जेन्टिनामा जन्मेका, एर्नेस्टो चे ग्वेभारा डे ला सेर्ना, (एल चे) सानैदेखि प्रतिभाशाली थिए । पाँच सन्तान मध्येका जेठा चेले सानैदेखि तल्लो वर्गप्रतिको सद्भाव देखाए । उनले आफ्नो पिताबाटै वामपन्थी झुकाव, अध्ययन तथा चेस खेलको प्रेरणा पाए । उनले सन् १९४८ मा अर्जेन्टिनाको राजधानी शहरमा चिकित्साशास्त्रको अध्ययन शुरु गरे । सन् १९५० मा पहिलो दक्षिण अमेरिका यात्रा गर्नुअघि चिकित्साशास्त्र अध्ययन गर्दै थिए । यसै समय उनले मार्क्सवादी अध्ययन पनि अघि बढाए ।
डाक्टर चे
चे ग्वेभारा एक मध्यम परिवारमा जन्मिएका थिए । उनी आफ्नो युवा अवस्थामा दम (आस्थामा) रोगबाट ग्रसित भएपनि जीवनभर एक खेलाडीको रुपमा आफूलाई विकास गरेका थिए । उनले आफ्नो परिवार र साथीहरूको प्रभावमा बाल्यकालमै वामपन्थ झुकावका राजनीतिक विचार ग्रहण गरे । किशोर अवस्थामै विभिन्न राजनीतिक गतिविधिमा सक्रिय भएका उनी तत्कालिन अर्जेन्टिनाको जुआन पेरोनको सरकारको विरोध गर्ने समूहमा पनि सामेल हुन्थे ।
उच्च विद्यालयबाट स्नातक भएपछि ग्वेभाराले ब्युनस आयर्स विश्वविद्यालयमा चिकित्साशास्त्त अध्ययन गरे, तर सन् १९५० मा उनले अध्ययनकै बिचमा एक साथीसँग दक्षिण अमेरिका यात्रामा निस्के । यस ९ महिने यात्रामा उनले गरिबी, शोषण तथा दुःखमा जीवन बिताएका अवस्थाहरू देखे र ग्वेभेमा यसको गम्भीर असर परेको थियो । त्यसपछि उनी दिनदुःखीलाई हेरविचार प्रदान गर्ने उद्देश्यले अर्को बर्ष मेडिकल स्कूलमा फर्किए र १९५३ मा आफ्नो डिग्री प्राप्त गरे ।
गुरिल्ला चे
त्यसपछि मार्क्सवादमा ग्वेभाराको रुची बढ्यो । उनले चिकित्सा क्षेत्र छोड्ने निर्णय गरे । उनले यो निश्चय गरे कि क्रान्तिले मात्र दक्षिण अमेरिकी जनतालाई न्याय दिलाउन सक्छ । सन् १९५३ मा उनले ग्वाटेमाला भ्रमण गरे, जहाँ सीआईएले आफ्नो सहयोगमा वामपन्थी सरकार विस्थापन गरेको थियो । यसलाई चेले नजिकबाट नियाल्न पाए । यसबाट उनको हौसला बढ्यो ।
१९५५ सम्म, ग्वेभारा विवाहित भई मेक्सिकोमा बस्न थालिसकेका थिए । त्यहिँ उनले क्युवाका क्रान्तिकारी फिडेल क्यास्ट्रो र उनका भाइ राहुललाई भेटे । त्यतिबेला क्यास्ट्रोहरु बाटिस्टा सरकार को विरूद्ध विद्रोहको योजना बनाइरहेका थिए । डिसेम्बर २, १९५६ मा उनीहरु क्युवामा पुगे र सानो सशस्त्र शैन्य गतिविधि शुरू गरे । सरकारले शुरुमा उनीहरूको सानो सशस्त्र सेनामाथि आक्रमण गर्दा बाँच्नेहरुमा चे र क्यास्ट्रोसँगै थिए । अर्को केही वर्षमा चेले क्यास्ट्रोको नजिकको सल्लाहकारको रूपमा सेवा गरे र केहि वर्षमा उनीहरूको बढ्दो गुरिल्ला सेनाको नेतृत्त्व गर्ने एउटा कमान्डर बने ।
जनवरी १९५९ मा फिडेल क्यास्ट्रोको नेतृत्त्वमो क्युवामा क्रान्ति सफल भयो । पछि चेले राष्ट्रिय बैंक प्रमुख तथा उद्योग मन्त्रीको काम गरे । उनको प्रमुख कार्य क्युवालाई कम्युनिस्ट राज्यमा रुपान्तरण गर्नु थियो ।
१९६० को सुरुवातमा, ग्वेभारा क्युवाको एक राजदूतको रूपमा अन्य देशहरूसँग सम्बन्ध स्थापित गर्न कार्यरत थिए । विशेष गरी सोभियत संघसँग । संसारमा यात्रा गर्नु उनको काम बन्यो । सन् १९६१ को बे अफ पिग्स इन्भेसन नामक अमेरिकी सिआइए र अपदस्त सरकारका पक्षधरहरुको प्रतिक्रान्तिलाई परास्त गर्न चेको नै प्रमुख भूमिका रह्यो । उनले गुरिल्ला युद्धको बारेमा एक हाते पुस्तक लेखेर प्रकाशन गरे तथा १९६४ मा संयुक्त राष्ट्रसंघमा बोल्दै अमेरिकी विदेश नीति र दक्षिण अफ्रिकाको रंगभेदको कडा निन्दा गरे ।
१९६५ सम्मआइपुग्दा क्युवा अर्थव्यवस्था कमजोर भइसकेको थियो । ग्वेभाराले आफ्नो पद पद छोडे र उनको क्रान्तिकारी विचारधाराहरू विश्वको अन्य भागमा पुर्याउन हिडे । जहाँ जहाँ आन्दोलन थियो त्यहाँ क्रान्तिको समर्थनमा गुरिल्ला युद्धमा सेनाको प्रशिक्षण गर्न उनी पुगे । उनले कङ्गोमा पहिलो यात्रा गरे । तर यो असफल भएपछि कंगो छोडे ।
विरासत
उनको मृत्युपछि चे ग्वेभारा एक महान राजनीतिक व्यक्ति बने । उनको नाम अक्सर विद्रोह, क्रान्ति र समाजवादसँग जोडिएको छ । कुनै पनि अवस्थामा, ग्वेभाराको जीवन एकदम ठूलो सार्वजनिक चासोको विषय बनेको छ र खोजी गरिएको छ र धेरै किताबहरु र फिल्महरुमा मोटरसाइकल डायरीसहित चित्रित गरिएको छ ।
योगदान
सन् १९२८ को जुन १४ मा जन्मेका अर्नेस्टो चे ग्वेभारा पेशाका हिसाबले डाक्टर थिए । १९५४ मा उनले मेक्सिकोमा फिजिसियन र हृदययरोग विशेषज्ञका रुपमा काम गरे । त्यहाँ उहाँको फिडेल क्यास्ट्रोसँग भेट भयो । १९५६ को नोभेम्बरमा फिडेलको नेतृत्त्वमा उनीसहित ८१ जनाको एउटा टोली क्युवा मुक्त गर्ने उद्देश्य लिएर हिँड्यो । १९५६ जुनमा चेले एलिदासँग बिहे गरे ।
क्युवा मुक्त भएपछि चे उद्योग विभागका प्रमुख चयन भए । भूमिसुधार आयोगका प्रमुख र क्युवाली बैङ्कको निर्देशक भई काम गर्दागर्दै १९६० मा उनको ՙगुरिल्ला युद्ध՚ भन्ने रचना छापियो । १९६२ अप्रिल १५ मा ट्रेड युनियन महासंघको अधिवेशनको उद्घाटन गर्दै समाजवादी सभ्यताको निर्माण गर्नुपर्ने विचारमा जोड दिए । लगत्तै उनी क्युवाली कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पोलिटब्युरोमा छानिए । १९६४ मा राष्ट्र संघको व्यापार तथा विकास सम्मेलनमा सहभागी भए ।
सन् १९६५ मा भएको अफ्रो एसियाली आर्थिक एकता सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि चे भूमिगत भए । सोही बर्ष अक्टोबर ३ मा चे ग्वेभाराले आफूसँगै ल्याटिन अमेरिकाको मुक्ति आन्दोलनमा लाग्न चाहेको बताउँदै फिडेल क्याष्ट्रोलाई पत्र लेखेर सबै सरकारी पद र सुविधा छाडी बेपत्ता भए ।
सन् १९६७ को मार्च २३ देखि उनकै नेतृत्त्वमा बोलिभियामा छापामार युद्ध शुरु भयो । बोलिभियाली शासकहरु आत्तिए । चेलाई पक्रन ठूलो सैनिक अभियान सञ्चालन गरियो । आखिर १९६७ को अक्टोबर ८ मा उनी पक्राउ परे र पक्रेको भोलिपल्टै हत्या गरियो ।
चे ग्वेभाराका नीति र कार्यशैलीसँग विश्वका कतिपय समाजवादीहरुले विमत राख्दछन् तर पनि क्युवाली क्रान्तिमा उनले देखाएको पराक्रम, समाजवादको निम्ति उनले भोगेका अनुभवहरु र लेखेका रचनाहरु एवम् सिंगै ल्याटिन अमेरिकाको मुक्तिको चाहाना जस्ता कुराहरुले भने क्रान्तिकारीहरुलाई निरन्तर आँट र साहस दिइरहेका छन् ।
(लेखक अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।)