बाजुरा बडिमालिका नगरपालिका- ९ की ऐना सार्कीले २१ महिनाकी छोरी बिरामी भएपछि जिल्ला अस्पताल पुर्याइन् । अस्पतालले कुपोषण भएको जनायो । ‘कामको धपेडीले छोरीलाई समयमा खाना खुवाउन पाइँदैन । आफ्नै पेट पाल्न मुस्किल छ । विचरी खान नपुगेर बिरामी परेकी रहिछ । डाक्टरले अब उपचार गराउँदा निकाे हुन्छ भनेका छन्’, उनले आशा व्यक्त गरिन् । १४ […]
"/>बाजुरा बडिमालिका नगरपालिका- ९ की ऐना सार्कीले २१ महिनाकी छोरी बिरामी भएपछि जिल्ला अस्पताल पुर्याइन् । अस्पतालले कुपोषण भएको जनायो ।
‘कामको धपेडीले छोरीलाई समयमा खाना खुवाउन पाइँदैन । आफ्नै पेट पाल्न मुस्किल छ । विचरी खान नपुगेर बिरामी परेकी रहिछ । डाक्टरले अब उपचार गराउँदा निकाे हुन्छ भनेका छन्’, उनले आशा व्यक्त गरिन् ।
१४ महिने छोरा च्यापेर बसेकी खप्तड छेडेदह गाउँपालिका-५ की लक्ष्मीदेवी नेपाली साेही अस्पतालमा भेटिइन् । उनकाे छाेराकाे तौल ६ किलो मात्र थियो । सोही गाउँपालिका-३ की सौरा धामीकी नाै महिनाकी छोरीलाई पनि कुपोषण भएको अस्पताल ल्याएपछि मात्र थाहा भयाे । ‘मेराे घरमा मात्र हाेइन, गाउँका धेरै परिवारमा अर्काको घर जाने जात भन्छन्, छोरीलाई राम्रोसँग खान दिँदैनन्’, धामीले अनुहार अँध्याराे पारिन् ।
बाजुरामा कुनै यस्ताे स्थानीय तह छैन, जहाँ कुपाेषित बालबालिका नभेटिऊन् ।
बाजुराका स्थानीय तहगत कुपाेषणकाे आँकडा
स्थानीय तह | स्वास्थ्य परीक्षण गरिएका बालबालिकाको संख्या | कडा कुपोषित बालबालिका | मध्यम कुपोषित बालबालिका |
बडिमालिका नपा | ६३७ | ६ | २५ |
हिमाली गा.पा. | २१२ | २५ | ३५ |
त्रिवेणी न.पा | ७५९ | १४ | १७ |
बूढीगंगा न.पा. | ४१७ | २७ | २४ |
बूढीनन्दा न.पा. | ४८४ | २४ | ८३ |
गौमुल गा.पा. | २१२ | १ | २ |
जगन्नाथ गा.पा | ६६७ | १० | ७८ |
स्वामीकार्तिक खापार गा.पा | ३८५ | २९ | ७९ |
खप्तड छेडेदह गा.पा. | ५१४ | ६ | २ |
जम्मा | २४२ | ३४५ | |
स्रोत : स्वास्थ्य कार्यालय, बाजुरा |
कुपोषित बालबालिकालाई संक्रमणको जोखिम बढी हुन्छ । उमेरअनुसार शारीरिक विकास नहुँदा त्यसको प्रभाव वयस्क अवस्थामा पनि हुने चिकित्सकहरू बताउँछन् ।
जन्मेदेखि चार वर्षसम्मका बालबालिकालाई १३ सय २० क्यालोरीयुक्त खाना चाहिन्छ । तर, त्यस्तो खाना नपाउँदा कुपोषण र त्योभन्दा बढी क्यालोरीको खाना खाँदा अधिक पोषण भई कुपोषण हुने विज्ञहरू बताउँछन् ।
वयस्कभन्दा बालबालिकालाई कुपोषणको जोखिम बढी हुन्छ । अल्पविकसित मुलुकका बालबालिकालाई अल्पपोषण हुन्छ । शरीरमा हाडछाला मात्रै हुनु, उचाइ र तौल नबढ्नु, आँखा धसिनु कुपाेषणका लक्षण हुन् । यसले बालबालिकाको शारीरिक, मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ । रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ ।
नेपालमा छ देखि २३ महिना उमेरका ४७ प्रतिशत बालबालिकाले मात्रै सन्तुलित भोजन पाएकाे र तीमध्ये ३६ प्रतिशतले न्यूनतम स्वीकार्य पोषण पाएको युनिसेफको तथ्यांकले देखाउँछ ।
जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको सन् २०१६ को तथ्यांकअनुसार नेपालका पाँच वर्षमुनिका एकतिहाइभन्दा बढी बालबालिकामा उमेरअनुसार उचाइ बढेको छैन । विपन्न परिवारका ४९ प्रतिशत र अशिक्षित आमाबाट जन्मिएका ४६ प्रतिशत बालबालिकामा पुड्कोपन बढी देखिएको छ ।
गरिबी, खाद्यसंकट, लैङ्गिक विभेद र जनचेतनाको कमीले बाजुराका प्रत्येकजसो घरमा कोही न कोही कुपोषित बालबालिका भेटिन्छन् ।
छोरी बढी कुपोषित
बूढीनन्दा नगरपालिका-६ की पुतला लुहारका सात सन्तान भए । उनका छोरीहरूले राम्राे स्याहार पाएनन् । ‘हाम्राे गाउँतिर अर्काकाे घर जाने जात हाे भनेर छोरीलाई प्रायः बेवास्ता गरिन्छ । साना छाेरीहरू छाेडेर काममा गइन्छ, खानपिनमा ध्यान दिन पाइँदैन ।’
साेही ठाउँकी नौरता विककी छाेरीले पनि राम्राे स्याहार पाइनन् ।छोरी जन्माई भनेर आफूसहित अबाेध बच्चीलाई परिवारले हेला गरेकाे उनी बताउँछिन् । पोषिलो खाना र स्याहार नपाएपछि उनीकी छोरीलाई कुपोषण भयाे ।
महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुकमणि शाह भन्छिन्, ‘जन्मिएकै दिनदेखि परिवारले वास्तै नगर्ने भएकाले छाेरीहरू कुपोषित हुन्छन् ।’
उनका अनुसार छोरालाई आमाले लामो समयसम्म स्तनपान गराउने तर छोरीलाई चाँडै दूध छुटाउने गरेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराकाे यस वर्षकाे असोजसम्मको तथ्याङ्कले २ सय ४२ जना कडा कुपोषण र ३ सय ४५ जनालाई मध्यम कुपोषण भएको देखाउँछ ।
डोगडी स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर रावत आफ्नो कार्यक्षेत्रमा ९० प्रतिशत बालिका कुपोषित भेटिएको बताउँछन् । तर, बालकमा यो समस्या कम रहेको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयको २०७४ सालको तथ्याङ्कले पनि बालिका बढी कुपोषित भएको देखाउँछ । कडा कुपोषण भएका ६ सय ४० जनामध्ये ४ सय १ बालिका छन् । त्यस्तै, मध्यम कुपोषित १ हजार ३ सय ५३ मध्ये ७ सय ४२ बालिका छन् ।
नेपालीको औसत आयु ६९.२ वर्ष छ । तर, बाजुरेलीको औसत आयु भने ५९.५ वर्ष मात्र छ । गरिबीकै कारण अधिकांश बाजुरेलीको आयु कम हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रूपचन्द्र विश्वकर्मा बताउँछन् ।
बालविवाह पनि कारण
जिल्लामा कुपाेषितकाे संख्या बढ्नुकाे अर्काे कारण बालविवाह रहेकाे जानकारहरू बताउँछन् । जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र विश्वकर्मा भन्छन्, ‘यहाँ कम उमेरमा विवाह गर्ने र कम अन्तरमा बच्चा जन्माउने चलन छ । बालबालिकाले राम्राे स्याहार, पोषिलो खानेकुरा पाउँदैनन्, जसले कुपाेषण निम्त्याइरहेकाे छ ।’
नेपालको कानुनले विवाह गर्नका लागि अभिवाकको सहमति भए २० वर्ष उमेर ताेकिदिएकाे छ । तर, यहाँ धेरै बालिकाको सानैमा विवाह हुने गरेको छ । २०६८ सालको जनगणनाअनुसार बाजुराका २४ हजार ९ सय १९ जना महिलाकाे विवाह हुँदा उनीहरूले २० वर्ष उमेर पूरा गरेका थिएनन् । ४ हजार जना बालिकाको त १५ वर्ष नपुग्दै विवाह भएकाे थियाे ।
केटाको पनि बालखैमा विवाह नहुने त होइन तर यो मात्रा केटीकाे तुलनामा आधा मात्र छ । बाजुरामा १२ हजार ६ सय ७ जना बालकको विवाह १९ वर्षसम्ममा भइसकेको तथ्यांकले देखाउँछ ।
बाजुरामा बालअधिकारका क्षेत्रमा काम गरिरहेको जिल्ला बाल कल्याण समितिको प्रतिवेदनले बालविवाह हुने कारणहरू औँल्याएकाे छ । कन्यादान गरे पुण्य पाइन्छ भन्ने मान्यता राख्ने बुबाआमाले धेरैजसाे बालिकाको सानैमा विवाह गरिदिन्छन् भने यौन चाहना बढ्दै गएपछि किशोरकिशोरी बुबाआमालाई थाहै नदिईकन बिहे गर्छन् । परम्परागत जात्रापर्वमा यस्तो बढी हुने गर्छ ।
राष्ट्रिय जनगणना २०६८ नै हेर्ने हो भने पनि १० वर्ष नपुग्दै बिहे भइसक्नेकाे संख्या १३ लाख ८ हजार १५ छ । यीमध्ये महिलाकाे संख्या ११ लाख ५ हजार १ सय ५० छ भने पुरुष २२ हजार ८ सय ६५ छन् ।
१५ वर्ष नपुग्दै बिहे गर्ने महिला १२ लाख १७ हजार ३५ तथा पुरुष २ लाख ८४ हजार ९७ गरी कुल १५ लाख १ हजार १ सय ३२ छ । २० वर्ष नपुग्दै विवाह गर्ने महिला ५५ लाख ५७ हजार ५ सय ३२ र पुरुष २४ लाख ६० हजार ८ सय ८१ गरी कुल ८० लाख १८ हजार ४ सय १३ देखिन्छ । यसले के देखाउँछ भने देशमा कुपोषण बढाउने एउटा कारण बालविवाह पनि हाे ।
महिला अधिकार मञ्चकी अध्यक्ष रुपमणी शाह भन्छिन्, ‘जिल्लामा धेरै किशोरीले १४ देखि १६ वर्षकाे उमेरमा बिहे गर्छन् ।प्रजननसँग सम्बन्धित अङ्गकाे राम्राेसँग विकास नहुँदै बच्चा पाउँछन् । यसले बच्चा र आमा दुवैको स्वास्थ्यमा खतरा उत्पन्न हुन्छ । दुवैलाई पोषण पुग्दैन ।’
जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका अनुसार सानै उमेरमा बच्चा पाउने आमा र उनीहरूका बच्चालाई विभिन्न रोगले आक्रमण गर्छ, पछि गएर आमाको पाठेघरमा समस्या आउँछ ।
उत्पादनमा कमी
बाजुरामा कुपाेषणका कारण बालविवाह मात्रै पनि हाेइन, यसका अन्य विभिन्न कारण छन् । यीमध्ये जिल्लामा कृषि उत्पादनमा कमीले पाेसिलाे खानाको अभाव निम्त्याउनुले पनि बालबालिकालाई कुपाेषणकाे शिकार बनाइरहेकाे कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जाेशी बताउँछन् । ‘जिल्लामा कृषि उत्पादन न्यून छ । वर्षभरि राम्राेसँग खान नपाउनेकाे संख्या धेरै छ, जुन कुपाेषणकाे एउटा कारण हाे’, उनले भने ।
उनका अनुसार बाजुरामा मुख्य बाली मानिने धानकाे उत्पादन निराशाजनक छ । जिल्लाले बर्सेनि १२ हजार मेट्रिकटन खाद्यान्न बाहिरबाट आपूर्ति गर्छ । २१ सय ८८ वर्ग किलाेमिटर क्षेत्रफल रहेको बाजुरामा हाल ३३ सय १० हेक्टरमा मात्र धानखेती गरिन्छ ।
जिल्लाका पूर्वाेत्तर क्षेत्रमा हरेक वर्ष खडेरीका कारण समस्या हुने गरेको छ । तरकारी लगाउन पछिल्लो समय केही संघसंस्था र सरकारी कार्यालयले काम थालेका छन् । यद्यपि, याे पर्याप्त छैन । जानकारहरू कृषि उत्पादन पर्याप्त नहुँदा पनि कुपाेषितकाे संख्या बढिरहेकाे बताउँछन् ।
जिल्ला तथ्याङ्क कार्यालय बाजुराका अनुसार जिल्लामा ७.५० प्रतिशत जनसंख्या भूमिहीन छ । ३८.७ प्रतिशत नागरिकलाई आफ्नो खेतबारीको उत्पादनले तीन महिना मात्र खान पुग्छ । २७.४ प्रतिशत मात्र नागरिक आफ्नो खेतबारीको उत्पादनबाट ६ महिनासम्म पेटभरि खान सक्छन् । ७.५ प्रतिशतले आफ्नै उत्पादनबाट नाै महिनासम्म खान पाउँछन् । आफ्नै खेतबारीको उत्पादनले खान पुग्नेकाे संख्या ४.४० प्रतिशत छ । १४.१४ प्रतिशत जनसंख्या अन्य पेसामा रहेको तथ्याङ्कले देखाउँछ ।
गरिबी
नेपाल मानव विकास प्रतिवेदन २०१५ तथा राष्ट्रिय जनगणना २०६८ अनुसार बाजुराको कुल जनसंख्यामध्ये ६४.१ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । तत्कालीन सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गरिब घरपरिवार पहिचान कार्यालयको प्रतिवेदन–२०७२ ले बाजुरामा ७१.१ प्रतिशत गरिबी रहेको देखाएकाे थियाे ।
बाजुराका स्थानीय तहगत गरिबीको आँकडा |
|||
स्थानीय तह | जम्मा परिवार | गरिब परिवार | गरिबीको प्रतिशत |
बडिमालिका नपा | २३८६ | १२८७ | ५३.९ |
हिमाली गा.पा. | १६९७ | १२६५ | ७४.५ |
त्रिवेणी न.पा. | २८८१ | १८६४ | ६४.७ |
बूढीगंगा न.पा. | ३७०६ | २०२९ | ५४.७ |
बूढीनन्दा न.पा. | ३६०० | २०१७ | ६७.१ |
गौमुल गा.पा. | १३६५ | ४४७ | ३२.७ |
जगन्नाथ गा.पा. | १५७४ | १०९३ | ६९.४ |
स्वामीकार्तिक खापार गा.पा. | २१८२ | १८८३ | ७५ |
खप्तड छेडेदह गा.पा. | २९११ | १९८९ | ६८ |
स्रोत: गरिब घर पहिचान बोर्ड |
जिल्लामा कुल जनसंख्याको ३५ प्रतिशत अति गरिब, २२ प्रतिशत मध्यम गरिब र १४ प्रतिशत सामान्य गरिब रहेको गरिब घर पहिचान कार्यालय काठमाडौंका तत्कालीन निर्देशक रामहरि गैरे बताउँछन् । जिल्लाका गाउँपालिका र नगरपालिकामध्ये सबैभन्दा बढी गरिबी स्वामीकार्तिक गाउँपालिकामा भएको अध्ययनले देखाएको छ ।
बाजुरा मात्र होइन, सिङ्गो सुदूरपश्चिम प्रदेश नै गरिबीको चपेटामा छ । २०५८ सालको सर्वेक्षणमा सुदूरपश्चिममा गरिबी ४४.६ प्रतिशत रहेकोमा २०६८ सालमा बढेर ४७.१ प्रतिशत पुगेको सरकारी तथ्यांकले देखाउँछ ।