देशभर कोरोनाको त्रास बढीरहँदा बाजुराका विद्यालयमा भने पठन-पाठन भइरहेको छ । साउन पहिलो साताबाट जिल्लाका सवै विद्यालयमा भौतिक उपस्थितिमै पठन-पाठन सुरु भएको हो । कोरोना सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गरी पठन-पाठन सुरु गरिएको विद्यालयहरूले जनाएका छन् । बजुराका ५८ माध्यमिक विद्यालय, १८६ आधारभूत र २२३ बालविकास केन्द्रमा पठन-पाठन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय […]
"/> देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन – शिंजापति

देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ १३:२२:३३
देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन

देशभर कोरोनाको त्रास बढीरहँदा बाजुराका विद्यालयमा भने पठन-पाठन भइरहेको छ । साउन पहिलो साताबाट जिल्लाका सवै विद्यालयमा भौतिक उपस्थितिमै पठन-पाठन सुरु भएको हो । कोरोना सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गरी पठन-पाठन सुरु गरिएको विद्यालयहरूले जनाएका छन् ।

बजुराका ५८ माध्यमिक विद्यालय, १८६ आधारभूत र २२३ बालविकास केन्द्रमा पठन-पाठन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले बाजुरामा कोरोनाको संक्रमणको समयमा विद्यालय सञ्चालनसम्बन्धी मापदण्ड तयार पारी पठन-पाठन सुरु भएको हो ।

‘विद्यालयमा आएर पढ्न पाउँदा सारै खुसी लागेको छ । घरमै बसेर पढ्दा नजानको कुरा कसलाई सोध्ने कसलाई सोध्ने हुन्थ्यो । शिक्षकले पढाउँदा धेरै सहज भएको छ,’ बढीमालिका माध्यमिक विद्यालयकी छात्रा पूजाकुमारी बिकले भनिन्, ‘स्कुल आउँदा मास्क अनिवार्य लगाउँछौँ, स्कुलको गेटबाट भित्र पस्दा जरो जाँच हुन्छ, साबुन पानीले हात धुन्छौँ र सेनिटाइजर हातमा लगाएर मात्र भित्र पस्ने गरेका छौँ ।’

‘गाउँमा फोनै लाग्दैन । दूर शिक्षाका उपकरणहरू हाम्रोमा हुँदैनथे । आफूलाई लागेको कुरा शिक्षकले पढाउँदा जति सजिलो घरमा बसेर एक्लै पढ्दा हुँदैन,’ गौमुल गाउँपालिकाका विद्यार्थी सुमन बोहराले बताए ।

मालिका माविका शिक्षक विष्णु पाण्डे जिल्ला प्रशासनले बनाएको मापदण्डका आधारमा पठन-पाठन सुरु गरिएको बताउँछन् । ‘जिल्ला प्रशासनले पठाएको मापदण्डामा रहेर हामीले विद्यालय सञ्चालन गरेका छौँ । कक्षा कोठामा जम्मा २५ जना विद्यार्थी राख्ने गरेका छौँ । एक बेन्चमा दुई जना मात्र राख्छौँ,’ उनले भने ।

विद्यालय आउँदा र जाँदा कोभिड सुरक्षाको सामग्री नियमित प्रयोग गर्ने गरेको उल्लेख गर्दै पाण्डेले सुरक्षित रूपमा विद्यालय सञ्चालन गरिएको बताए ।

‘हाम्रो विद्यार्थी संख्या धेरै छ । कक्षामा २५ जना मात्र विद्यार्थी राख्दा एक जना विद्यार्थीले हप्तामा तीन दिन विद्यालय आउनु पर्ने हुन्छ,’ पाण्डेले भने, ‘घरमा बस्दासम्म होमवर्क दिन्छौँ । कक्षामा आउँदा उसले नजानेको कुरा सोध्छ ।’

बाजुराका शिक्षा इकाई प्रमुख सिंहराज डाँगीले जिल्लाका विद्यालयहरूमा सुरक्षासम्बन्धी मापदण्ड अपनाएर पठन-पाठन सुरु गरिएको बताए । मापदण्ड पूरा नगरेका विद्यालय सञ्चालनमा भने रोक लगाइएको उनले बताए ।

‘जिल्लाभरका विद्यालयमा मापदण्ड अपनाएर अध्ययन-अध्यापनको काम सुरु भएको छ । स्वास्थ्य सुरक्षाका समाग्री र मापदण्ड पूरा नगरेका विद्यालयलाई सञ्चालनमा रोक लगाएका छौँ,’ उनले भने ।

विद्यार्थीहरूको जरो नाप्न तथा एक कक्षामा २५ जना र ठाउँ हेरेर एक बेन्चमा दुई जना मात्र राखेर पढाउन निर्देशन दिएको उनले बताए । शिक्षा मन्त्रालय र सरोकारवाला निकायसँग समन्वय गरी पठन-पाठन सुरु गरिएको डाँगीले बताए ।

‘मापदण्ड पूरा गरेको अवस्थामा पनि विद्यार्थी बिरामी हुँदा तत्काल विद्यालय बन्द गर्ने गरेका छौँ । यस हप्ता सदरमुकामको समता विद्यालय बन्द गरेका छौँ,’ डाँगीले भने ।

यता जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जोशी अस्पतालमा निमोनिया र रुघाखोकी लागेर बउने बालबालिकाको सङ्ख्या बढेको बताए । ‘अस्पतालमा अहिले बालबालिका, निमोनिया र रुगाखोकीका बिरामी बढेका छन्,’ जोशीले भने, ‘कोरोना हो या अरु रोग हो जाँच्न प्रदेश प्रयोगशालामा पठाएका छौँ । अधिकांशको लक्षण कोरोनासँग मिल्न गएको छ ।’

अस्पतालले रिफल गरेका एक जनामा कोरोनाको तेस्रो भेरियन्ट भेटिएको उनले बताए । ‘एक जना रिफर गरेको बिरामीलाई कोरोनाको तेस्रो भेरिएन्ट भेटिएको छ । अवस्था त्यति सहज छैन,’ जोशीले भने, ‘अस्पताल आउने बिरामी बालकहरू विद्यालय उमेरभन्दा कम अर्थात तीन वर्षमुनिका छन् ।’

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी भने सबै विद्यालयले सुरक्षा मापदण्ड अपनाएको बताउँछन् । ‘सबै विद्यालयले जिम्मेवार भएर सुरक्षा मापदण्ड अपनाइरहेका छन्,’ उनले भने, ‘दूर शिक्षाको प्रयोगबाट पठन-पाठन सम्भव नभएकाले विद्यार्थीको भौतिक उपस्थितिमा रोटेसन मिलाइएर मापदण्ड तयार पारी पठन-पाठन सुरु गरेका छौँ ।’

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ १३:२२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।