निमेन्द्र शाही/ ‘आज बिहान घरमा चामल सकीएको थियो, आमाले चामल लिन मार्तडी जाउँ भन्नु भयो, चार सय गाडीभाडा खर्चेर मार्तडी आए यहाँको डिपोमा चामल सकीएको सूचना टाँसिएको रहेछ, बजारबाट चामल लिउँभने अचाक्ली महंगो छ। अब रीत्तोहात घर फर्कीनु पर्ने भयो ।’ बुढीगंगा नगरपालिका-२मुसीका धोज रावतले भने। सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा […]
"/> चामल नपाउँदा रित्तो हात फेर्ता – शिंजापति

चामल नपाउँदा रित्तो हात फेर्ता

  • शिंजापति न्युज
  • शुक्रबार, भदौ २९, २०८० १७:३९:१९
चामल नपाउँदा रित्तो हात फेर्ता

निमेन्द्र शाही/ ‘आज बिहान घरमा चामल सकीएको थियो, आमाले चामल लिन मार्तडी जाउँ भन्नु भयो, चार सय गाडीभाडा खर्चेर मार्तडी आए यहाँको डिपोमा चामल सकीएको सूचना टाँसिएको रहेछ, बजारबाट चामल लिउँभने अचाक्ली महंगो छ। अब रीत्तोहात घर फर्कीनु पर्ने भयो ।’ बुढीगंगा नगरपालिका-२मुसीका धोज रावतले भने।
सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सकिएपछि गोदाममा लगाइएको ताला एक हप्ता देखी खुलेको छैन । जिल्लाको पुर्बित्तर क्षेत्रको हिमाली गाउँपालिकाको कवाडीमा रहेको डिपोमा खाद्यान्न सकीएको पाँच महिना बढी भएको छ।
‘हाम्रा गाउँकालागि स्थापना गरेको कवडीको डिपोमा जेठ बाट चामल छैन।, हामीले महंगो दरमा बजारबाट चामल नलिकन घरमा चुलो बल्ने सम्भावना छैन। चामल कहिले आउँने पनि पत्व छैन बजारमा मोटोचामलको ८० रुपैया केजी छ। कसरी जहाँन कबिला पाल्ने’ हिमाली गाउँपालिका -४छप्की बुढथापाले बताए ।
सरकाले दिने ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २, ३,४ र ५ को रुगीनमा खाद्य संकट भएको हो। त्यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत संकट भएको छ। आर्थिक वर्षमा ०७९/०८० मा कुवाडी डिपोमा ३५ सय क्वीन्टल चामल रहेको थियो। कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा एक दाना पनि चामल नरहेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले बताए।
प्रमुख मेखराज ओझाले भनेः‘०८०/०८१ मा कुवाडी डिपोका लागि २५ सय क्वीन्टल कोटा रहेको छ। उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुंगो भएको छैन। कुवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकिलो ५२ मा उपभोक्ताले पाउने गरेका थिए। तर बजारमा त्यही चामल प्रतिकिलो ८० रुपैयाँ हालेर किन्नु परेको छ।’
त्यस्तै, स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि चामल सकिएको ४ महिना पुगेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताए। गत आर्थिक वर्षको ५ सय क्वीन्टल चामल जेठ अन्तिममै सकिएको थियो। यो आर्थिक वर्षको चामल ५ क्वीन्टल कोटा रहेको छ। तर, ढुवानी ठेक्का प्रक्रियामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाले बताएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाले थपेः ‘हामी संग भएको खाद्यान्न सकीयो किसानको उत्पादन पनि भत्रीन पाएको छैन।, घरमा भएको स्टक पनि सकीएकोछ। यो समयमा जनताले सारैदुख पाउँने भए।’
खप्तड छेडेदह गाउँपालिका-७का नरेन्द्र बुढा शुक्रबार पचास केजी चामल लिन सातसय जिपको भाडा तिरेर सदरमुकाम मार्तडी पुगेका थिए तर उनी खाद्यान्न डिपोमा पुग्दा मन अमिलो गरेर फकीए। उनले ल्याएको पाचास केजी चामल किन्ने पैसाले अब बजारबाट २५ केजी मात्र चामल किनेर फर्कीनु पर्ने बाध्यता आएको छ।
दुर्गमका डिपोमा ५ महिनादेखि चामल अभाव छ भने जिल्ला सदरमुकाम मार्तडीको डिपोमा भदौ २४ गतेदेखि चामल सकिएर सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ। सूचनामा लेखिएको छ, ‘खाद्यान्न डिपोमा रहेको मौज्दात चामल सकिएको हुँदा खाद्यान्न प्राप्त नभएसम्मका लागि बिक्री वितरण कार्य बन्द भएको ब्यहोरा सर्वसाधारणमा जानकारी गराइएको छ।’
मार्तडीको डिपोमा १ सय क्वीन्टल, कारागारका कैदीबन्दीका लागि मात्र छ भने कोल्टी डिपोमा ३ सय क्वीन्टल चामल मौज्दात रहेको छ। त्यो पनि एक हप्तासम्मका लागि मात्र पुग्ने र त्यसपछि कोल्टी डिपोमा पनि ताला लगाउनु पर्ने अवस्था हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ।
बाजुरामा जहिलै दसैं तिहारमा खाद्यान्न अभाव हुने गरेको छ। यो भन्दा अघिल्ला वर्षहरूमा वर्षात्का कारण साफे-मार्तडी सडक बन्दको कारण देखाउँदै चामल ढुवानी हुन नसकेको भन्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी यो वर्ष ठेक्का प्रकृया ढिलो भएको भन्दै बहाना बनाइरहेको छ। एक महिना पहिले मात्र यो वर्षको दसैंसम्म खाद्यान्न अभाव नहुने भन्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई महिना नपुग्दै चामल अभाव भएको सूचना टाँस गरी खाद्यन्न गोदाममा ताला लगाएको छ।
जिल्लामा तीन महिनासम्म खान पुग्ने जनसंख्या ४० प्रतिशत छ। हरेक वर्ष ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख हरी पनेरुले बताए। उनले भनेः‘अपुग खाद्यान्नको पूर्ति खाद्य संस्थान र बजारबाट हुने गरेको छ। बाजुरामा कुल जमिनको ९ दशमलव २१ प्रतिशत मात्रै खेतीयोग्य रहेको छ । त्यसमा पनि सिञ्चित क्षेत्र दुई प्रतिशतभन्दा कम छ। जिल्ला खाद्य सुरक्षाका दृष्टिले उच्च जोखिमयुक्त जिल्ला हो।’

प्रकाशित: शुक्रबार, भदौ २९, २०८० १७:३९:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।