बाजुरा जिल्लाका गाउँ-गाउँमा कलिला ‘बुहारी’हरू छन् । उमेर नपुगी विवाह गर्दा गाउँहरूमा कलिलैमा बुहारी बन्नेहरूको सङ्ख्या उच्च छ । बाजुरामा यस वर्ष भएका विवाहमध्ये विवाहका लागि आवश्यक उमेर नपुगेकाहरूको सङ्ख्या उच्च छ । त्यसमा पनि बालिकाहरूको संख्या धेरै छ । जिल्ला बाल कल्याण समितिको तथ्याङ्कअनुसार यस आर्थिक वर्षको जेठसम्म ५ सय ७३ विवाह भएकामा ४ सय २ […]
"/> कलिला बुहारीले ढाकिँदै बाजुराका गाउँ – शिंजापति

कलिला बुहारीले ढाकिँदै बाजुराका गाउँ

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ १0:५५:२९
कलिला बुहारीले ढाकिँदै बाजुराका गाउँ

बाजुरा जिल्लाका गाउँ-गाउँमा कलिला ‘बुहारी’हरू छन् । उमेर नपुगी विवाह गर्दा गाउँहरूमा कलिलैमा बुहारी बन्नेहरूको सङ्ख्या उच्च छ ।

बाजुरामा यस वर्ष भएका विवाहमध्ये विवाहका लागि आवश्यक उमेर नपुगेकाहरूको सङ्ख्या उच्च छ । त्यसमा पनि बालिकाहरूको संख्या धेरै छ ।

जिल्ला बाल कल्याण समितिको तथ्याङ्कअनुसार यस आर्थिक वर्षको जेठसम्म ५ सय ७३ विवाह भएकामा ४ सय २ जनाको उमेर पुगेको छैन । बालविवाह गर्नेमा केटाको भन्दा केटीको सङ्ख्या बढी छ ।

यस आर्थिक वर्षमा २२९ केटीले उमेर नपुगी विवाह गर्दा १७३ केटाले उमेर नपुगी विवाह गरेको समितिको तथ्यांक छ ।

बाजुराका स्वामीकार्तिक खापर गाउँपालिका, बुढीनन्दा नगरपालिका, बडिमालिका नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिबेणी नगरपालिकामा उमेर नपुगी विवाह गर्नेको सङ्ख्या बढी छ ।

बिहे गर्नेमध्ये अधिकांश माध्यामिक तहमा अध्ययनरत विद्यार्थी छन् । ५ प्रतिशत निरक्षर छन् । कक्षा ६ देखि १० सम्म अध्ययन गर्नेले उमेर नपुगी विवाह गर्ने गरेको तथ्यांकले देखाउँछ । समितिको तथ्यांकअनुसार बिहेपछि २२ प्रतिशतले विद्यालय छोडीसकेको छन् ।

बालविवाह गर्नेमध्ये सबैभन्दा बढी १५ देखि १८ वर्षसम्मका किशोर-किशोरी छन् । अहिले कानुनअनुसार २० वर्ष नपुगी गरिएको विवाहलाई उमेर नपुगी गरेको विवाह मानिन्छ ।

बाजुरामा बालविवाह रोक्न विभिन्न संघसंस्थाले ठूलो रकम खर्चिएर विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् । तर, पनि अवस्थामा भने अपेक्षाकृत सुधार आइनसकेको देखिन्छ । बजेट सक्नका लागि मात्र कार्यक्रम गर्ने गरेको आरोप संघसस्थामाथि लाग्दै आएको छ ।

घरको दबाब, लहैलहै, जनचेतनाको अभाव, देखासिकी, परम्परागत मान्यता, इन्टरनेटको गलत प्रयोग, अभिभावकहरूमा सचेतनाको अभावका कारणले बालविवाह हुने गरेको छ ।

अशिक्षा, कानुनको बारेमा जानकारी नहुनु, परम्परागत मान्यताका कारण, महिनावारी नहुँदै बिहे गरिदिनु पर्छ भन्ने मान्यताका कारण पनि बाजुरामा बालविवाह बढ्दै गएको बडिमालिका नगरपालिकाका मेयर पदम बहादुर बडुवालले बताए ।

‘गाउँमा धेरै बालविवाह हुने गरेको छ । स्वास्थ्य चौकीमा पहिलो गर्भजाँच गर्ने महिलाको उमेर हेर्दा दयनीय अवस्था छ । बालविवाहले गाउँ ढाकेको छ । गउँभरी कलिला बुहारीहरू छन्,’ बडुवालले भने, ‘कार्यक्रमका नाममा संघ संस्थाले प्रचार मात्र गरेको देखीरहेका छौँ ।’

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तथ्याङ्क अधिकृत रुगुम बहादुर थापा पहिलो पटक गर्भ जाँच गराउन आउनेहरू उमेर नपुगेका हुने गरेको बताउँछन् ।

‘हाम्रा स्वास्थ्य संस्थामा पहिलो पटक गर्भजाँच गराउन आउने महिला उमेर नपुगेकै हुन्छन् । पहिलो गर्भ जाँच गर्न आउँनेमध्ये धेरै २० वर्ष मुनिका हुन्छन्,’ उनले भने, ‘यसले गाउँमा बालविवाहको दर उच्च रहेको पुष्टि गर्छ ।’

बालविवाह गरेमा कानुनी कारबाही हुने व्यवस्था छ । तर, उक्त कानुनी व्यवस्थाको प्रभाव बाजुरामा अहिलेसम्म पनि परेको देखिँदैन ।

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ १0:५५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।