बाजुराको मुख्य सडक सञ्जालको ताँदी याे वर्ष पनि चुडिएको छ । साँफे मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्म वर्षसँगै आएको पहिरोका कारण अन्तरजिल्ला जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षाका कारण जिल्लाका ग्रामीण सडकसमेत बिग्रिएका छन् । ती सडकमा पनि अहिले यातायात ठप्प छन् । शनिबारदेखिकाे अविरल वर्षासँगै बाजुराका सबै सडकखण्ड अवरुद्ध भएका हुन् । करिब पाँच किलोमिटर सडकको बीचबीचमा खसेकाे पहिले सडकको […]
"/> हिँडेर आउजाउ गर्नसमेत मुस्किल – शिंजापति

हिँडेर आउजाउ गर्नसमेत मुस्किल

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ ११:४२:२८
हिँडेर आउजाउ गर्नसमेत मुस्किल

बाजुराको मुख्य सडक सञ्जालको ताँदी याे वर्ष पनि चुडिएको छ । साँफे मार्तडी सडकको बल्देदेखि पानीनाउँलासम्म वर्षसँगै आएको पहिरोका कारण अन्तरजिल्ला जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । वर्षाका कारण जिल्लाका ग्रामीण सडकसमेत बिग्रिएका छन् । ती सडकमा पनि अहिले यातायात ठप्प छन् ।

शनिबारदेखिकाे अविरल वर्षासँगै बाजुराका सबै सडकखण्ड अवरुद्ध भएका हुन् ।

करिब पाँच किलोमिटर सडकको बीचबीचमा खसेकाे पहिले सडकको रुपरेखा नै बाँकी राखेको छैन । वर्षा सुरु भएसँगै  बाजुरा सदरमुकामसम्म सबै स्थानीय तहबाट हिँडेर पुग्नुपर्ने बाध्यता छ । यही बाटो भएर हुम्ला र मुगुमा जाने यात्रुहरूले समेत सास्ती ब्यहोर्नु परेको छ ।

बडिमालिका–२ का स्थानीय  वीरबहादुर कार्कीले भने, ‘एक हप्तादेखी पानी परिरहेकाे छ । यसले बाजुरा जिल्लाका सबै सडकहरू अवरुद्ध बनेका छन् । यहाँ बाटो बन्द हुँदा बिरामीलाई समस्या भएको छ । यसले गर्दा दैनिक उपभोग्य सामानहरूसमेत पाउन कठिन भएको छ।’

स्थानीय कर्णबहादुर कार्कीले जाेखिम बढेकाे बताए । ‘यहाँ आउने बिरामीलाई, बालबच्चालाई पहिरोमा हामीले तारेर उद्धार गर्ने गरेका छौँ, अर्कोतिर यहाँबाट हुम्लासम्म जाने यात्रुका लागिसमेत हामीले यसरी नै निशुल्क सेवा गरेका छौँ, बाटो बन्द भएर समस्या छ, जाेखिम बढेकाे छ’, उनले भने ।

बडिमालिका नगरपालिका- ८ का व्यापारी प्रकाश थापाका अनुसार यो सडक बर्खा लाग्यो कि बिग्रने र बन्द हुने गरेकाे छ । उनले भने, ‘यसको नयाँ विकल्प नसाेची नहुने भएकाे छ । यातायातका साधान चल्न नपाउँदा ग्राहकका लागि सामान ल्याउन मुस्किल छ । मान्छेले बोके सामान ल्याउन सम्भव छैन ।’

मार्तडी कोल्टी सडक शनिबारबाटै थुनिएका छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण साफेँ मार्तडी सडकखण्ड पनि ठप्प भएको प्रहरीले जनाएको छ । जिल्लाको बुढिगंगा नगरपालिकाको अम्कोटमा नियमित पहिरो बग्ने र वर्षाका कारण झन् बढी पहिरो आउने भएका कारण साफेँ मार्तडी सडकसमेत थुनिएकाे हाे । सोमबार रातिको अत्यधिक वर्षाका कारण मार्तडीभन्दा बाहिरका सडक अवरुद्ध भएका छन् । पहिरोका कारण सडक अवरुद्ध हुँदा हिँडेरै आवतजावत गर्न पनि समस्या भएको स्थानीयले बताएका छन् ।

‘यो वर्ष पनि वर्षाको समयमा मार्तडीदेखि तलतिरको सडक पहिरोका कारण बिग्रिएकाले धनगढीलगायतका ठाउँबाट दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या हुने देखिएकाे छ । ठाउँठाउँमा पहिरोका कारण सदरमुकाम मार्तडीसम्मको सम्बन्धसमेत टुटेको छ । कामका लागि सदरमुकाम आउनेहरूका लागि पनि यात्रा कठिन भएको छ,’ हुम्ला ताँजाकोट गाउँपालिकाका चक्र मल्लले भने ।

बाजुराको बुढीगंगा नगरपालिका–१ उम्कोटोमा पहिरोका कारण सडक थुनिएकाे छ । यात्रु हिँड्नसमेत समस्या भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने, ‘हरेक वर्ष यो समस्या हुने गरेको छ। यस वर्ष चाँडै बाटो बिग्रियो । हरेक वर्ष बाजुरावासीले यसरी नै दुःख पाउने गर्छन् । याे कुरा यहाँका नियमनकारी निकाय सबैलाई थाहा छ। यस वर्ष चाँडै पानी परेका कारण समस्या भएको हो । अब केही दिन काम गरेर बाटो खोले पनि फेरि पहिरोले लगिहाल्छ ।’

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ ११:४२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।