अघिल्लो साता सदरमुकामको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष ३४ वर्षीय विनोद विकलाई कोरोना भाइरसको संक्रमणले श्वासप्रश्वासमा असहज भएपछि आफन्तले जिल्ला अस्पतालमा पुर्‍याए । अस्पतालमा प्रारम्भिक उपचारपछि त्यहाँका चिकित्सकहरूले उनको अवस्था जटिल रहेको भन्दै डडेल्धुरा लैजान भने । आफन्तले एम्बुलेन्सका लागि सबैतिर खबर गरे तर पाएनन् । अरु गाडीले पनि कोरोना संक्रमितलाई बोक्न नमानेपछि झन् समस्या पर्‍यो […]
"/> बाजुरामा बढ्दै कोरोना संक्रमण तर जिल्ला अस्पतालमा अक्सिजन मात्रै होइन, एम्बुलेन्स पनि छैन – शिंजापति

बाजुरामा बढ्दै कोरोना संक्रमण तर जिल्ला अस्पतालमा अक्सिजन मात्रै होइन, एम्बुलेन्स पनि छैन

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ ११:४५:४९
बाजुरामा बढ्दै कोरोना संक्रमण तर जिल्ला अस्पतालमा अक्सिजन मात्रै होइन, एम्बुलेन्स पनि छैन

अघिल्लो साता सदरमुकामको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष ३४ वर्षीय विनोद विकलाई कोरोना भाइरसको संक्रमणले श्वासप्रश्वासमा असहज भएपछि आफन्तले जिल्ला अस्पतालमा पुर्‍याए ।

अस्पतालमा प्रारम्भिक उपचारपछि त्यहाँका चिकित्सकहरूले उनको अवस्था जटिल रहेको भन्दै डडेल्धुरा लैजान भने । आफन्तले एम्बुलेन्सका लागि सबैतिर खबर गरे तर पाएनन् । अरु गाडीले पनि कोरोना संक्रमितलाई बोक्न नमानेपछि झन् समस्या पर्‍यो । सोही नगरपालिकाका- ८ का वडा अध्यक्ष प्रकाश रावलले जीप भाडामा लिएर अस्पताल लैजाँदै गर्दा बाटैमा विकको मृत्यु भयो ।

शव फर्काएर सदरमुकाम ल्याइयो तर संक्रमित भएकाले उनको शव अरूजस्तो सद्गत गर्ने अवस्था थिएन । सेनाले शव व्यवस्थापन गर्नुपर्ने मापदण्डअनुसार सेना तयार त भयो तर जिल्लामा एउटा पनि शववाहन नहुँदा अर्को समस्या आइलाग्यो । त्यो पनि नगरपालिकाले जिप भाडा तिरेर उपलब्ध गराएपछि बल्लतल्ल सेनाले शव व्यवस्थापन गर्‍यो ।

बाजुरा सदरमुकाम मार्तडीको जिल्ला अस्पतालमा एउटा पनि एम्बुलेन्स र शववाहन छैन । जिल्लाभर संचालन हुँने गरी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वर्ष दिएको एउटा मात्रै एम्बुलेन्स छ जो टाँटे स्वास्थ्यचौकीले सञ्चालन गरिरहेको उक्त एम्बुलेन्स बुढीगंगाभन्दा माथि चढ्दैन । ‘सदरमुकाम क्षेत्रमा न त एम्बुलेन्स छ न शववाहन नै,’ प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘सदरमुकाम आउने बाटो कठिन भएकाले टाँटे स्वास्थ्यचौकीअन्तर्गत रहेको एउटा मात्रै एम्बुलेन्स पनि होचो भएकाले मार्तडीसम्म पुग्न सक्दैन ।’

सदरमुकामबाहिर हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका एउटा एउटा एम्बुलेन्स सञ्चालनमा रहेका छन्, स्थानीय तहका एम्बुलेन्स आफ्नो स्थानीय तहका बिरामी बोक्नका लागि मात्र पयोग हुन्छन् । उनीहरूले सदरमुकाम आउन मात्र ५ घण्टा लाग्ने भएकाले जिल्ला सदरमुकामा रेफर भएका बिरामीका लागि त्यसले काम दिँदैन । दुइटा स्थानीय तहको एक/एक र टाँटे स्वास्थ्य चौकीको गरी जिल्लाभरिमा तीनवटा एम्बुलेन्स छन् । बडिमालिका नगरपालिकालाई भारतीय राजदूतावासले पाँच वर्षपहिले हस्तान्तरण गरेको एम्बुलेन्स भने सञ्चालनमा नआउँदै अलपत्र अवस्थामा छ ।

शववाहन नहुँदा निकै समस्या भएको जिल्ला अस्पतालका प्रमुख डा. प्रकाश जोशी बताउँछन् । ‘गत आर्थिक वर्ष एम्बुलेन्स र शववाहन खरिदका लागि बजेट आएको थियो । त्यो वर्ष खरिद गर्न नसकेर रकम फिर्ता भयो,’ उनले भने, ‘चालु वर्ष पनि एम्बुलेन्स र शववाहन खरिदका लागि बजेट आएको छ, बल्ल खरिद गर्ने प्रक्रिया सुरु गर्दै छौँ ।’

आईसीयू र भेन्टिलेटर त टाढाको कुरा, बाजुरामा अक्सिजनको उस्तै संकट छ । शनिबार जिल्ला अस्पतालमा १० वटा सानो परिमाणको सिलिन्डर मात्रै अक्सिजन मौज्दात रहेको अस्पतालका प्रमुख डा. जोशीले बताए ।

‘११ जना संक्रमित उपचाररत हुनुहुन्छ, अर्को बिरामी थपियो वा अहिलेकै बिरामीलाई बढी मात्रामा अक्सिजन आवश्यकता भयो भने हामीलाई अप्ठ्यारो छ,’ डा. जोशीले भने, ‘१७ वटा सिलिन्डर धनगढी भर्न पठाएको एक साता भइसक्यो, पाइएको छैन । पाइए पनि धनगढीदेखि मार्तडी पुग्न १२ घण्टा लाग्छ ।’

सोमबार बडिमालिका नगरपालिका–८ का वडा अध्यक्ष रावलले कोरोना संक्रमित बिरामीलाई बोक्न कुनै पनि गाडीले नमानेपछि आफैँले गाडी चलाएर बिरामीलाई डडेल्धुरा पुर्‍याए । बडिमालिका नगरपालिकाले भाडामा लिएको गाडी अध्यक्ष विकले चलाएर संक्रमितलाई अस्पताल लगेका हुन् ।

नगरपालिकाको डाइभर बिरामी भएकाले अर्को डाइभर खोजेको तर कसैले जान नमानेपछि आफैँले गाडी चलाएर बिरामीलाई लगेको वडा अध्यक्ष रावलले बताए । वडा अध्यक्ष रावलले भने, ‘यो बेला सक्नेजति सेवा गर्ने हो, कोही ड्राइभर जान नमानेपछि आफैँले लगेँ ।’

२ वर्षसम्म शववाहन र एम्बुलेन्स खरिद भएन

जिल्ला अस्पताल बाजुराले दुई वर्षसम्म पनि शववाहन र एम्बुलेन्स खरिद गर्न सकेको छैन । आर्थिक वर्ष ०७६/०७७ मा शववाहन र एम्बुलेन्स खरिदका लागि आएको रकम फिर्ता गएको थियो ।

यो आर्थिक वर्षमा साउनमै शववाहन र एम्बुलेन्स खरिदका लागि १५ लाखका दरले प्रदेश सरकारले पैसा पठाएको भए पनि अहिलेसम्म खरिद गर्न सकेको छैन । जिल्ला अस्पताल बाजुरा तथा सदरमुकाम मार्तडी शववाहन र एम्बुलेन्स नहुँदा कोरोनाका बिरामीले समस्या भोग्नुपरेको छ । अझ शववाहन नहुँदा कोरोनाका कारणले मृत्यु भएकालाई फोहोर बोक्ने टिपर र प्राइभेट गाडीले बोक्नुपर्ने बाध्यता छ ।

प्रमुख डा. जोशीले शववाहन नहुँदा निकै समस्या भएको बताए । ‘अस्पतालमा गएको आर्थिक वर्ष एम्बुलेन्स र शववाहान खरिदका लागि बजेट आएको थियो । त्यो वर्ष खरिद गर्न नसकेर रकम फिर्ता भयो’ जोशीले भने, ‘यो वर्ष पनि एम्बुलेन्स र शववाहन खरिदका लागि बजेट आएको छ, बल्ल खरिद गर्ने प्रक्रियामा पुगेको छ ।’ अहिले प्रक्रियामा गएकोले एम्बुलेन्स र शववाहन आइपुग्न एक/दुई महिना लाग्ने उनले बताए ।

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ ११:४५:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।