– नवराज पनेरु बैतडीको सिगास गाउँपालिका –३, तल्ला हल्कासैनीकी भावना धामी २०७९ माघमा रुखबाट लडेर गम्भीर घाइते भइन् । ३८ वर्षीया धामीको तीन महिनासम्म डडेल्धुरा अस्पतालमा उपचार भयो । श्रीमान् खेमसिंह धामीका अनुसार उपचारमा झण्डै ७ लाख रुपैयाँ खर्च भयो । ‘रुखबाट लडेर कम्मर र खुट्टा टुटेको थियो,’ श्रीमान् खेमसिंहले भने, ‘तीन महिना डडेल्धुरा अस्पतालमा उपचार […]
"/>खेमसिंहका अनुसार सधैँजस्तै भावना डेढ साताअघि २९ साउनमा बाख्रा चराउन घरनजिकैको त्वापोड भिरमा गएकी थिइन् । सोही भिरबाट लडेकी भावनाको घटनास्थलमै मृत्यु भएको छ । घाँस–दाउरा र मेलापातको दैनिकीमा बाँचिरहेकी भावनाको मृत्यु भएपछि अहिले हल्कासैनी गाउँ शोकमा छ । घटनाजस्तै नियति पनि भावनाको जस्तै बन्यो, बैतडीकी अनिता नाथका लागि । ९ साउनमा डिलाशैनी गाउँपालिका– ६, खरेलीगाउँकी २२ वर्षीया नाथ घाँस काट्न जंगल गएकी थिइन् । घरनजिकै रहेको डोब्रा भिरमा घाँस काटिरहेका बेला लडेकी नाथ दुई सय मिटर तल खसिन् । उनको घटनास्थलमै मृत्यु भयो ।
डोटीको जोरायल गाउँपालिका– ६, गुनडकी १८ वर्षीया दुर्गा साउँदले सानैमा आमा गुमाइन् । बुबा र दाइहरूले उनको पालनपोषण गरे । स्वास्थ्यकर्मी भएर सेवा गर्ने सपना थियो उनको । सपना पूरा गर्न कैलालीको गोदावरी नगरपालिका बसेर हेल्थ असिस्टेन्ट अध्ययन गरिरहेकी थिइन् उनी । सुदूरपश्चिमेलीको मौलिक पर्व गौरा मनाउनका लागि बुवाले दुर्गालाई पहाड घर बोलाए ।
दुर्गाकी दिदी चन्द्रा भन्छिन्, ‘आफ्ना दाइसँगै दुर्गा घर पुग्दा पानी धेरै परिरहेको थियो । घर पुगेर भित्र जान नपाउँदै ढोकामै परेको चट्याङले उनी गम्भीर घाइते भइन् । उपचारका लागि धनगढी पुर्याइएको थियो । अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई बचाउन सकेनन् ।’ दुर्गाको मृत्युसँगै स्वास्थ्यकर्मी भएर सेवा गर्ने उनको सपनाको पनि अन्त्येष्टि भएको छ । भावना, अनिता र दुर्गा उदाहरण मात्रै हुन् । सुदूरपश्चिममा हुने भवितव्य र विपद्का घटना महिलाहरूका लागि काल बनिरहेका छन् ।
चट्याङले लियो १० वर्षमा ९९ जनाको ज्यान
सुदूरपश्चिममा वर्षात्को समयमा चट्याङका घटनाहरू धेरै हुने गरेका छन् । यो क्षेत्रमा सबैभन्दा बढी चैतदेखि भदौसम्म चट्याङ पर्ने गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणअनुसार यस वर्ष वैशाख लागेदेखि चट्याङका घटनामा वृद्धि भएको छ । सुदूरपश्चिम प्रदेशमा चट्याङबाट हुने मानवीय क्षति पनि बढ्दै गएको छ ।
नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलका अनुसार पछिल्लो १० वर्षमा मात्रै प्रदेशका ९९ जनाले चट्याङका कारण ज्यान गुमाएका छन् । उनीहरूमध्ये ६४ महिला छन् । सबैभन्दा बढी कञ्चनपुरमा २१ र कैलालीमा २१ जनाले ज्यान गुमाएका छन् भने अछाम जिल्लामा १७ जनाको मृत्यु भएको छ । डोटीमा १०, बाजुरामा ९, बैतडीमा ७ र डडेल्धुरामा ६ जनाको चट्याङका कारण मृत्यु भएको छ ।
यस्तै, दार्चुला र बझाङ जिल्लामा भने चार/चार जनाको मत्यु भएको छ । पछिल्लो १० वर्षको विवरणअनुसार देशभरिमै सुदूरपश्चिमका कैलाली र कञ्चनपुर अन्तभन्दा बढी चट्याङ खस्ने जिल्लाको सूचीमा छन् । मौसम पूर्वानुमान महाशाखाले हरेक दिन जारी गर्ने मौसमी बुलेटिनमा मेघगर्जन र चट्याङको सम्भावना उल्लेख गरेको हुन्छ । तर, मौसमविद् बिनु महर्जनका अनुसार चट्याङबारे पूर्वानुमान गर्न सक्ने प्रविधि नेपालमा छैन । ‘चट्याङको पूर्वानुमानका लागि हामीसँग प्रविधि छैन,’ उनले भनिन्, ‘तर पनि मौसमी बुलेटिनमा हामीले सतर्कता अपनाउन आग्रह गरिरहेका हुन्छौँ ।’
उनले चट्याङबाट बच्नका लागि विद्युतीय सामग्रीको प्रयोग नगर्न र घरबाहिर ननिस्कन आग्रह गरेकी छिन् । डडेल्धुरामा कार्यरत शिक्षिका अञ्जु भट्टका अनुसार चट्याङमा बढी महिलाको ज्यान जानुको कारण भने घरायसी काममा बढी महिलाहरू व्यस्त हुनु पनि हो । ‘हामीले खेतमा काम गर्दा र जंगलमा गएको समयमा चट्याङ लागेर महिलाको ज्यान गयो भन्ने समाचार पढिरहेका हुन्छौँ,’ उनले भनिन्, ‘घरभित्र भयो भने चट्याङले ज्यान जाने सम्भावना कम हुन्छ । तर, महिलाहरू काममै व्यस्त हुन्छन् ।’
तीन वर्षमा लडेर ८० महिलाको मृत्यु
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा लडेर मात्रै ८० महिलाको ज्यान गएको छ । कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार भिरबाट लडेर ६५ महिला र रुखबाट लडेर १५ जना महिलाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २१, २०७९/०८० मा २९ र २०८०/०८१ मा ३० जना महिलाको लडेर ज्यान गएको कार्यालयले जनाएको छ । सबैभन्दा बढी सुदूरपश्चिमको बैतडी, दार्चुला र अछाममा भिर र रुखबाट लडेर महिलाले ज्यान गुमाएका छन् । तीन आर्थिक वर्षमा १६/१६ जना महिलाको लडेर मृत्यु भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार भवितव्य घटनामा महिलाको मृत्यु हुनुको मुख्य कारण काममा विभेद हो । ‘सुदूरपश्चिमका नौ जिल्लाका भवितव्य घटनाको तथ्यांक हेर्दा मृतकको सूचीमा धेरै महिलाको नाम छ,’ एसएसपी अधिकारीले भने, ‘अघिकांश घरायसी काम महिलाहरूले नै गर्ने भएकाले पनि होला । जोखिममा पनि उनीहरू नै बढी छन् ।’
माटोको ढिस्कोले बर्सेनि जान्छ महिलाको ज्यान
२०८० चैत दोस्रो साता डोटीमा माटोको ढिस्कोले दुई महिलाको ज्यान गयो । बिसु पर्व (नयाँ वर्ष) को अवसरमा घर पोत्न माटो निकाल्ने क्रममा आदर्श गाउँपालिका–२ की ६० वर्षीया भागादेवी ओझा र शिखर नगरपालिका–९ की २१ वर्षीया निर्मला रोस्याराका लागि माटोको ढिस्को नै काल बनेको थियो ।
२०७७ चैत तेस्रो साता माटोको ढिस्कोले पुरिएर डडेल्धुराको अमरगढी नगरपालिका– ७ स्थित ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको थियो । स्थानीय उग्रतारा जङ्गलनजिकै माटो निकाल्ने क्रममा उनलाई ढिस्कोले पुरेको थियो । ढिस्कोमा पुरिएर सोही वडाकी ३० वर्षीया शारदा ऐरी र २० वर्षीया कमला विक घाइते भएका थिए । डडेल्धुरामै १५ चैत २०७५ मा गन्यापधुरा गाउँपालिका– २, कुजाकोटका २० वर्षीया कृष्णा देउवाको पनि मृत्यु भएको थियो । घर लिपपोत गर्ने रातो माटो खन्ने क्रममा ढिस्को खसेर कृष्णा पुरिएकी थिइन् । उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।
२४ माघ २०७७ मा कैलालीको जानकी गाउँपालिका–९, पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको ज्यान गएको थियो । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको थियो । ग्रामीण भेगका अधिकांश आवास (घर) माटोबाटै बनेकाले तिनलाई मर्मत गर्न माटोले लिपपोत गरिरहनुपर्छ । लिपपोत ग्रामीण परिवेशमा धार्मिक मान्यतासँग पनि जोडिन्छ । यस्तो लिपपोतका लागि आवश्यक माटो ल्याउने काम गाउँठाउँमा महिलाकै काम हो । अपवादबाहेक यो काममा पुरुष संलग्न हुँदैनन् ।
सोही कारण माटो ल्याउन वनजंगल र ढिस्कोहरूमा पुग्ने महिला तथा बालिका माटो खन्दा ढिस्को खसेर हुने दुर्घटनामा पर्ने गरेका छन् । तर, उक्त कामका लागि महिलाहरू मात्रै जाने गरेका छन् । पछिल्लो ५ वर्षमा ९ जिल्लामा १६ जना महिलाले माटोको ढिस्कोमा पुरिएर ज्यान गुमाइसकेका छन् । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का केही काम महिलाले मात्रै गर्नुपर्छ भन्ने सोच र केही जनचेतनाको अभावले भवितव्य घटनामा महिलाको मृत्यु बढी भइरहेको बताउँछिन् ।
‘घाँस–दाउरा र मेलापातको काम महिलाले मात्रै गर्नुपर्ने सोचाइका कारण उनीहरू दुर्घटनामा परिरहन्छन्,’ उनले भनिन्, ‘ती काममा महिलालाई मात्र लगाइँदा उनीहरूको ज्यान जोखिममा छ । माटोको ढिस्कोमा पुरिएर पनि धेरै महिलाले ज्यान गुमाएका छन् । माटो खन्दा सुरक्षामा ध्यान दिन पनि आवश्यक छ ।’
उनका अनुसार समाजमा कुन काम पुरुषले र कुन महिलाले गर्ने भनेर लगभग छुट्याइएको छ । ‘त्यसैले कामका प्रकृतिअनुसार घटनाका पीडित पनि महिला वा पुरुष हुने गरेका छन्,’ उनले भनिन्, ‘पछिल्लो समय भने सोचमा आएको परिवर्तनले महिलाले गर्ने काम पुरुष र पुरुषले गर्ने काम महिलाले गर्ने गरेका छन् ।’
पहिरोले लियो ६८ महिलाको ज्यान
नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टलका अनुसार सुदूरपश्चिममा पछिल्लो १० वर्षमा मात्रै पहिरोका कारण १ सय ३८ जनाले ज्यान गुमाएका छन् । उनीहरूमध्ये ७२ महिला छन् । पहिरोले सबैभन्दा बढी मानवीय क्षति अछाम जिल्लामा भएको छ । अछाममा ३० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।
यस्तै, डोटीमा २९ जनाको मृत्यु भएको छ भने बझाङमा २० जनाको मृत्यु र अझै २२ जना बेपत्ता छन् । यस्तै, दार्चुलामा २२, बाजुरामा १४, बैतडीमा १०, कैलालीमा सात र डडेल्धुरामा ६ जनाको मृत्यु भएको छ । बैतडीमा एक जना बेपत्ता छन् । कैलालीमा कार्यरत शिक्षक तोयनाथ भट्टका अनुसार पहिरोमा महिलाको बढी ज्यान जानुको कारण भने काममा विभेदभन्दा वैदेशिक रोजगारी मुख्य कारण हो ।
‘सुदूरपश्चिमका पहाडी जिल्लाका केही गाउँ त अहिले पुरुषविहीन बनेका छन्,’ उनले भने, ‘अधिकांश पुरुष रोजगारीका लागि भारत र तेस्रो मुलुक पुगेका छन् । घरमा महिला र वृद्धवृद्धा मात्रै छन् । त्यसैले यहाँ हुने विपद्का घटनामा पनि महिलाकै ज्यान बढी जोखिममा छ ।’