खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । क्षण-क्षणमा मौसम परिवर्तन भइरहने खप्तडलाई हिउँको राजधानी, लालीगुराँसको बगैँचाका रूपमा पनि चिनिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण खप्तडमा घाँसे मैदानको बीचबाट खोला बगिरहेको हुन्छ । खप्तड सुदूरपश्मिका चारवटा पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम र डोटीको संगमस्थलमा अवस्थित छ । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण खप्तड क्षेत्र समुद्री सतहबाट १२ हजार फिटको उचाइमा छ । […]
"/>खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । क्षण-क्षणमा मौसम परिवर्तन भइरहने खप्तडलाई हिउँको राजधानी, लालीगुराँसको बगैँचाका रूपमा पनि चिनिन्छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण खप्तडमा घाँसे मैदानको बीचबाट खोला बगिरहेको हुन्छ । खप्तड सुदूरपश्मिका चारवटा पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम र डोटीको संगमस्थलमा अवस्थित छ ।
पर्यटकीय दृष्टिले महत्त्वपूर्ण खप्तड क्षेत्र समुद्री सतहबाट १२ हजार फिटको उचाइमा छ । यो सुदूरपश्चिमको चर्चित धार्मिक क्षेत्र पनि हो ।
मानव बस्ती नरहेको लेकमा अवस्थित खप्तड १ हजार २४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २ सय २५ वर्ग किलोमिटर क्षेत्रमा खप्तड राष्ट्रिय निकुञ्ज छ ।
खप्तडको पर्यटन विकासका लागि पर्यटन मन्त्रालयअन्तर्गत खप्तडक्षेत्र पर्यटन विकास समिति गठन गरिएको छ । समिति गठन गरिए पनि हुनुपर्ने जति विकास र प्रचार हुन सकेको छैन ।
यस क्षेत्रमा मंसिरदेखि चैत/वैशाखसम्म हिमपात हुन्छ । त्यसबाहेकको समय यो क्षेत्र घुम्नका लागि उपयुक्त मानिन्छ । खप्तडमा २२ पाटन (मैदान) ५२ झोती (थुम्का) र २६ डोप्का (दह) छन् । मुख्य धार्मिकस्थलहरूमा त्रिवेणी धाम, सहस्रलिङ्ग, खप्तड दह, नागढुङ्गा, बाबाकुटी, केदारढुङ्गा र छिन्टेढुङ्गा, भीमलौरी, खोपेढुङ्गा, भीम घट्ट, जेठी बौरानीढुङ्गालगायत हुन् ।
यहाँ आउनेमध्ये अधिकांश धार्मिक पर्यटकहरू हुन्छन् । खप्तडको तीनतिर ५ हजार फिट अग्ला पहाड र उत्तरपट्टि साइपाललगायका हिमाल छन् । खप्तडका पाटनहरू चुन (लेकाली घाँस) र विभिन्न रङ्गीचङ्गी फूलहरूले शोभायमान बनेका छन् ।
खप्तडमा पर्ने खप्तड ताल पनि भनिने खापर दह संरक्षणको अभावमा पुरिँदै गएपछि खप्तड क्षेत्र पर्यटन विकास समितिले मर्मत गर्न थालेको छ ।
जेठ महिनामा पर्ने गंगा दशहरामा यस क्षेत्रमा ठूलो मेला लाग्छ । मेलाको समयमा नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्दछन् ।
यहाँ रहेको छिन्टेढुङ्गाको विशेष महत्त्व छ । उक्त ढुङ्गाको बीच भागमा रहेको प्वालबाट छिरेपछि पाप नाश हुने जनविश्वास छ । खप्तडको महत्त्व बढाउन खप्तडबाबा (स्वामी सच्चिदानन्द सरस्वती) को विशेष भूमिका छ ।
परापूर्वकालमा पाण्डवमध्येका भीमसेनले हलो जोत्दा फैलिएको माटोका ढिस्काहरू झोती बनेका छन् ।
खप्तडमा २४ प्रजातिका स्तनधारी, १७ प्रजातिका घस्रने जनावर, २ सय ९० प्रजातिका चरा, तीन प्रजातिका माछा, ६ प्रजातिका उभयचर, १८ प्रजातिका किरा, ५७ प्रजातिका रुख तथा ४ सय प्रकारका जडीबुटी र १ सय ९२ प्रजातिका सप्तरङगी फूलहरू पाइन्छन् ।
पौराणिककालमा यस क्षेत्रमा ऋषिमुनीहरूले तपस्या गरेको किंवदन्ती पनि छ । जसका कारण सो क्षेत्रमा रहेको माईस्थान, सहस्रलिङ्ग, नागढुङ्गा, खप्तडबाबा कुटी, खप्तड दह, सीतापाइला र त्रिवेणी स्नानघाटलगायतका स्थानको दर्शनका लागि धार्मिक पर्यटकहरू आउने गरेका छन् ।
खप्तड पर्यटन विकास समितिका निर्देशक भीम खड्का यो क्षेत्रमा पूर्वाधार विकासको काम भइरहेको बताउँछन् ।
‘पछिल्लो समय खप्तडमा पूर्वाधार विकास भइरहेको छ । खप्तड क्षेत्रमा १५० जनाका लागि आवास हुने दुई ठाउँमा संरचना बन्दै छन् भने सडक सञ्जाल जोड्ने तयारी गर्न प्रदेश सरकारले योजना अगाडि सारेको छ,’ खड्काले भने ।
‘यसको प्रचारप्रसारका लागि यस वर्ष कार्यक्रम तय भएको छ,’ खड्काले भने, ‘पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले थप जोड दिनुपर्छ ।’