बाजुरामा शुक्रबारसम्म पहिरोका कारण घरमा क्षति भएका र जोखिममा रहेका घर धुरीको संख्या ११ सय २५ छ । उनीहरूमध्ये कमै मात्र सरकारले उपलब्ध गराएको राहत लिन पुगेका छन् । पीडितमध्ये २३ जना मात्र अर्थात् २.०४ प्रतिशत राहत लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । सरकारले दिने राहतभन्दा बढी खर्च सदरमुकाम आउजाउमा लाग्ने भएपछि पीडितहरू राहत लिन सदरमुकाम नगएका […]
"/> ‘राहत लिन जाँदा उल्टै ऋण लाग्छ, होस्, नजाने’ – शिंजापति

‘राहत लिन जाँदा उल्टै ऋण लाग्छ, होस्, नजाने’

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ ११:0५:0२
‘राहत लिन जाँदा उल्टै ऋण लाग्छ, होस्, नजाने’

बाजुरामा शुक्रबारसम्म पहिरोका कारण घरमा क्षति भएका र जोखिममा रहेका घर धुरीको संख्या ११ सय २५ छ । उनीहरूमध्ये कमै मात्र सरकारले उपलब्ध गराएको राहत लिन पुगेका छन् । पीडितमध्ये २३ जना मात्र अर्थात् २.०४ प्रतिशत राहत लिन जिल्ला प्रशासन कार्यालय पुगेका छन् । सरकारले दिने राहतभन्दा बढी खर्च सदरमुकाम आउजाउमा लाग्ने भएपछि पीडितहरू राहत लिन सदरमुकाम नगएका हुन् ।

प्रहरीले मुचुल्का उठाएर जिल्ला प्रशासन कार्यालयमा पठाएको तथ्यांक हेर्दा सबैभन्दा बढी क्षति गौमुल गाउँपालिकामा भएको देखिन्छ । यो गाउँपालिकाका ५ सय ४१ घरधुरी जोखिममा छन् ।

त्यस्तै, स्वामीकार्तिक खापर गाउँपालिकाका २ सय ४३ घर धुरी, बुढीगंगामा ११०, हिमाली गाउँपालिकामा १८६ बडिमालिका नगरपालिकामा २२, बुढीनन्दा नगरपालिकामा दुई, जगन्नाथ गाउँपालिकामा २२, खप्तड छेडेदहमा १३, त्रिवेणी नगरपालिकाका दुई घरमा क्षति पुगेको छ । पहिरोले बुढीनन्दामा एक जानाको मृत्यु भएको छ भने त्रिवेणीका एक जना बेपत्ता भएका छन् ।

हिमाली गाउँपालिका– ५, क्युडीमा ७ असारमा पहिरोले ९४ घरधुरी विस्थापित भए । उनीहरूमध्ये केहीका घर हेर्दा-हेर्दै पहिरोले बगाएर कवडी खोलामा मिसायो । अहिले विस्थापितहरू खाली चौरमा पाल टाँगेर बसेका छन् । तर, राहतका लागि जिल्ला प्रशासन पुगेका छैनन् ।

क्युडीको पहिरोलेले घर बगाएका ज्ञानु बुढाले भने, ‘यहाँ आफ्नो बेहाल छ । सदरमुकाम जाने पैसा छैन । सदरमुकाममा धेरै दियो भने ५ हजार राहत दिन्छ । आउनजान मात्र चार दिन लाग्छ । त्यहाँ अफिसमा काम गर्ने गरी जाँदा ५ हजारले पुग्दैन । राहत लियो भन्ने नाम मात्र दर्ता हुने हो । त्यो राहत लिन गएर ऋण लगाउनुभन्दा नजानु नै वेश ।’

बुढा भन्छन्, ‘प्रहरीले मुचुल्का बनाएर जिल्लामा पठाएका छन् । हामी यहाँ गाउँ नै विस्थापित भएर बिचल्ली छ । बरु यहीँ आएर दियो भने हुने थियो । त्यसो को गरीदिन्छ हामीलाई ? नेताहरूले भोट माग्दा मात्र हामी सबै व्यवस्था गरिदिन्छौँ भन्छन् । आपत् पर्दा कोही आउँदैन ।’

स्वामीकार्तिक खापार गाउँपालिका–२, छद्दरीका शक्ती बुढा भन्छन्, ‘गाउँमाथि बाट आएको पहिरोले आज ज्यान लिन्छ कि भोलि थाहा छैन । राहत माग्न सदरमुकाम गयो भने त्यहाँका कर्मचारीले माग्नेजस्तो व्यवहार गर्छन् । खर्च बढी हुन्छ बेकार हो ।’

सोही वडास्थित खडालबाडाका दीपक हमालको घर पहिरोले पुर्‍यो । अन्नपात र लत्ता कपडा सबै पुरिए । उनी पनि राहत लिन सदरमुकाम गएका छैनन् । ‘हामीले जीवन भरी आर्जन गरेको सम्पत्तिले पुग्दैन, सदरमुकाम गएर ल्याएको दुई/चार हजारले के हुन्छ र ? त्यही भएर आजसम्म गएको छैन,’ हमालले भने ।

स्वामीकार्तिक खापर गाउँपालिकाका वडा नं १ र २ मा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । तर, राहतभन्दा सदरमुकाम आउजाउमा बढी खर्च लाग्ने भएपछि पीडित स्थानीय राहत लिन गएका छैनन् ।

बाजुरामा रहेका २४ हजार ८ सय ८८ घरमध्ये हाल ५ हजार २९ मात्रै सुरक्षित रहेको तथ्यांक छ । ९० वर्ग किलोमिटर क्षेत्रफल पहिरो प्रभावित छ । यो प्रतिवेदन हेर्ने हो भने बाजुराको जमिन मानव बसोबासका लागि योग्य देखिँदैन । यद्यपि यहाँका स्थानीय हरेक वर्ष पहिरोबाट जोगिएको ठाउँमा घर बनाएर बसिरहेका छन् ।

डोजर आतंक मुख्य कारण

बाजुराका स्थानीय तहहरूमा पछिल्लो समय जथाभावी रूपमा सडक काट्न डोजरको प्रयोग गरेकाले ठूलो क्षति भएको हो । ‘सडक खनेकै कारण स्वामीकार्तिक खापर गाउँपालिका–१ को बालुवाको बस्ती पूरै पहिरोले गाउँ छोड्नुपर्ने बाध्यता छ । पुडेडीका ४० घर जोखिममा छन्,’ स्वामीकार्तिक खापर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष विष्णु बुढाले बताए ।

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ ११:0५:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।