प्रशस्त होटल खुलेपछि अछामको साफेबगरदेखि बाजुरा, मुगु र हुम्ला जाने बाटोमा बनाइएका पुराना धर्मशाला धेरै भत्किसके । बस्ने चौताराका ढुङ्गा नजिककाले लगिसके । डाेजरले खनेर ढुङ्गेधाराका मुहान पनि सुकिसके ।
नुन, तेल ल्याउन झुलाघाट जाने बाटो अहिलेको सडकभन्दा फराकिलो थियो । ‘बास बस्ने ठाउँमा धर्मशाला, थकाई मेटाउने ठाउँमा चौतारा र प्यास मेटाउने ठाउँमा कुवा र ढुङ्गेधारा मैले पनि प्रयोग गरेको हुँ । अहिलेका केटाकेटीलाई त्यो सुनाउँदा पत्याउँदैनन्’, यस क्षेत्रकाे इतिहासबारे जानकार जहरसिंह थापाले भने, ‘गाउँमा सडक खनियो । डाँडाहरू भत्काइयाे । पुर्खाका चीज पनि मेटिए । त्यसको पनि संरक्षण गरेको भए केही बिग्रने थिएन । बरु आउने पुस्ताका लागि इतिहासका प्रमाण त हुन्थे ।’
हिमाली गाउँपालिका–६ का मानबहादुर अधिकारीका अनुसार बाटोमा ढुङ्गा काटेर बनाएका देवल चौतारा, उकालोमा धर्म सम्झेर लगाएका पीपल–चौतारा, अनकन्टार जंगलमा बनाइएका धर्मशाला प्रयोग नगरे पनि भत्काइनु गल्ती हाे । ‘म सम्झिन्छु, पोरखे काँदमा १०–१५ धर्मशाला थिए । अहिले एउटा मात्र छ । टाढा-टाढाका मान्छेका लागि बनाइएका ती धर्मशाला यहाँको पुस्ताका लागि सम्झना हुन्थे भने पर्यटकका लागि आकर्षण’, उनले भने ।
जगन्नाथ गाउँपालिका–१ का जंगबहादुर विष्ट अछाम ठाँटीको वरपीपल चौतारो धेरैकाे मानसपटलमा अझै ताजा हुन सक्ने बताउँछन् । भन्छन्, ‘त्यहाँ थकाइ मारेकाहरूका लागि त्यो अहिले पनि सम्झनामा छ । तर, त्यो वर र पीपलको चौतारा जीर्ण छ । सडक आएपछि प्रयोगविहीन भएकाे छ । त्यस्ता चौतारा, कुवा र धाराहरू संरक्षण गर्न जरुरी छ ।’
झुलाघाटको चामल र ताक्लाकोटको नुनसँग जोडिएको यो बाटो बाइसे-चौबीसे राज्यको संस्कृतिसँग पनि जोडिएकाे छ । यति मात्र नभई पाण्डवहरूले बनाएका धारा र पञ्चदेवलहरूसमेत यिनै बाटोमा पर्छन् । ‘यो इतिहासको अध्ययन गर्ने र परम्परागत विषय हेर्नेहरूका लागि मुख्य गन्तव्य हुन सक्छ । त्यसको संरक्षण गर्न जरुरी छ’, पर्यटनक्षेत्रको संरक्षणमा लागेका अनिल शाहीले भने ।
बढ्दो होटल व्यवसायले प्राचीनकालीन स्तम्भहरूकाे अस्तित्व संकटमा परेकाे गुनासाे व्याप्त छ । लामो दूरी हिँडेरै पार गर्नुपर्ने ठाउँमा बटुवाका लागि बास बस्न बनाइएका पुराना धर्मशाला जीर्ण बनेपछि अहिले प्रयोगविहीन बनेका छन् ।
जथाभावी होटल खोलिनु र धर्मशालाको उचित संरक्षण नहुनुले धर्मशालाकाे अस्तित्व संकटमा परेकाे हाे । धरै दूरी हिँडनुपर्ने र छेउछाउ गाउँ नभएका ठाउँमा निर्माण गरिएका धर्मशाला अप्ठेरोमा परेका मानिसका लागि एक रातको आवास बन्ने गरे पनि प्राचीन सम्पदाको संरक्षणकै अभावमा मेटिन थालेकाे वाई गाउँका नहकुल जोशीले बताए ।
बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म बाटोको बीचमा पहिला निर्माण गरिएका दर्जनौँ धर्मशालामा झारपात उम्रिएका छन् भने बस्ने ठाउँमा पानी र हिलो जमेको छ ।
गत वर्ष मात्र पोरखे लेकमा हिउँ परेका बेला बास नपाएर एक जनाको मृत्यु भएको थियो । जंगलको बाटो र आवतजावतमा कठिनाइ भइरहेका बेला बाटोमा निर्माण गरिएका धर्मशाला निकै उपयोगी हुने, व्यवस्थित गर्न सके राज्यको आय बढ्ने बाजुराको संस्कृतिबारे अध्ययन गरिरहेका जहरसिंह थापाले बताए । ]
‘गाउँगाउँमा डोजरले भूमि उजाडियाे । पुर्खाकाे चिनो जोगाउन सकिएन । मन्दिर र चौतारा भत्काइयो । विकल्प हुँदाहुँदै ढुङ्गेधारा र कुवासमेत मिचेर सडक खनियाे । मुहान भएका र बाह्रै महिना पानी हुने ठाउँमा पानी सुक्यो । पुरानो अस्तित्व नै सखाप पारे । पुराना चीज त जाेगाउनुपर्थ्याे’, शाहीले भने ।
‘पादुकामा नुहाए मानसराेवर पुग्नै पर्दैन’
चीनकाे स्वशासित क्षेत्र तिब्बतमा पर्छ मानसराेवर । पुण्यका लागि तीर्थयात्रीहरू लामाे बाटाे तय गरेर मानसराेवरसम्म पुग्छन् । तर, यसैकाे पानी बगेर निस्कने पादुकामा स्नान गरे मानसराेवरसम्म पुग्नै नपर्ने मान्यता पनि छ । धार्मिकस्थलमा हिँडेका दर्शनार्थीले बाजुराको हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र बुढीनन्दा नगरपालिकाको बीचमा पर्ने पादुका कुण्डमा स्नान गरे मानसरोवर नगए पनि हुने किंवदन्ती छ । तर, पादुका कुण्डकाे जीर्णाेद्वार हुन सकेकाे छैन ।
मानसराेवर तालको मुहानबाट जमिनको सतहमुनि हुँदै आउने पानीको केही अंश पादुका कुण्डमा निस्कने भएकाले यसको महत्त्व छ । मानसराेवरको शिव पार्वतीकाे मूर्ति आकृति रहेको पहाडको दाहिनेतिरकाे अकाट्टे पर्वत बाजुराको पादुका कुण्डमा कर्णाली नदीले काटेको छ । त्यही पहाडको मुनि हुँदै पानी पादुका कुण्डमा आउने हिमाली गाउँपालिका–६ का मनवीर अधिकारी बताउँछन् ।
अधिकारीले भने, ‘यो कुण्डमा हरेक वर्षको मकर संक्रान्तिकाे राति कर्णाली नदीको बीचमा र त्यो पानी मिसिने ठाउँमा आगोको मुस्लो देखिने गरेकाे छ ।’
यस ठाउँमा बुढीनन्दाबाट आएको डाँडो, कार्तिकस्वामीको मन्दिरबाट आएको डाँडो, बडिमालिका र जगन्नाथ ठाकुरको मन्दिरहुँदै आएका तीनवटा डाँडा मिलेकाले पनि बढी महत्त्व रहेकाे ठानिन्छ । मानसराेवर जान नसक्नेले यहीँबाट जल भरेर लिने गरेको अधिकारीले बताए ।
त्यस क्षेत्रमा स्थानीयले पुर्खाैंदेखि मान्दै आएको पादुका मन्दिरको संरक्षण गर्न आवश्यक रहेको स्थानीयवासी बताउँछन् । तर, अहिलेसम्म संरक्षणका लागि खासै काम भएको देखिँदैन ।
जिल्लाका बडिमालिका, बुढीनन्दा, खप्तड, छेडदह र पोरखे गुफालगायतका दर्जनौँ धार्मिक एवं पर्यटकीय स्थलभन्दा बढी महत्त्वपूर्ण पादुका कुण्ड क्षेत्र हो । पादुका मन्दिर भएको पर्वत र पादुका कुण्ड प्रसिद्ध धार्मिकस्थल भएको र मानसराेवर जाने मार्गका रूपमा रहेको पादुका मन्दिरका पुजारी मष्टाप्रसाद उपाध्यायले बताए ।
मानसराेवरको अकाट्टे डाँडाबाट जल बगेर आएको हुन सक्ने धार्मिक विश्वास छ । पौराणिक किंवदन्तीअनुसार मानसराेवरबाट स्नान गरी फर्केका दर्शनार्थीहरूले पादुकाको दर्शन गरी जल भरेर ल्याउने प्रचलन छ । उक्त जल घर तथा मन्दिरमा राख्नाले एकआपसमा सद्भाव बढ्ने जनविश्वास छ ।
हरेक वर्ष भारतबाट यही बाटो भएर मानसराेवर जानेको संख्या धेरै छ । नेपालका अरु बाटोभन्दा याे बाटोबाट जान सहज रहेकाे वाई गाउँका कपुर गिरीकाे भनाइ छ ।
स्वामीकार्तिक खापार गाउँपालिका–५ का नरेशकुमार शाहीले भने, ‘यहाँबाट मानसराेवर जान सजिलो पनि छ । ‘कोल्टी एयरपाेर्टबाट सधैँ जहाज चल्छ । नेपाल र भारतका तीर्थयात्रीलाई सहज छ । यो कुरा हामीले सबैलाई जानकारी गराउन सकेका छैनौँ । त्यस कारण पनि समस्या भएको हो,’ उनले भने ।
मानसराेवर हुँदै आएको पादुका डाँडा एवं कर्णली नदीको छेउमा तातोपालीको मुहान छ भने पादुका डाँडामा प्राचीन हस्तकलाले कुँदिएका दुई पाउ भएको शिलालेख छ । उक्त शिलालेख कसले बनायो, कसरी उत्पन्न भयो, यसबारे यकिन जानकारी भने कसैसँग नभएको पुजारी उपाध्यायले बताए । अठाह्रौँ शताब्दीमा जंगबहादुर कुँवरका बुबा बालनरसिंह कुँवरले मानसराेवरबाट फर्केर पादुकामा मन्दिर, खानेपानी धारा र वृद्धाश्रम बनाएकाे इतिहास रहेकाे स्थानीय रामलाल कार्कीले बताए ।
पिलुचौर पादुका, जगन्नाथ ठाकुरदेव मन्दिर संरक्षणका लागि हालै पर्यटन विकास बाेर्डबाट केही रकम विनियोजन भएको बताइएको छ । पादुका क्षेत्रको प्रचारप्रसार र संरक्षण गर्न पादुका मन्दिर निर्माण गरी सप्ताह ज्ञान महायज्ञसमेत लगाएको गंगाप्रसाद उपाध्यायले बताए ।