मुगुका मुन्द्र शाहीले आफ्नो गाउँलेको बच्चा बिरामी भएर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए । उनले सोचेका थिए गाउँमा औषधि छैन यहाँ त होला, तर त्यसो पनि भएन । केन्द्रले कोरोना संक्रमणका कारण आकस्मिकबाहेका सेवा दिन छोडेको रहेछ । त्यसपछि उनी नजिकैको मेडिकलमा पुगे । उनले ल्याएको बच्चालाई निमोनिया भएकोले नेबुलाइजरबाट अक्सिजन दिनुपर्ने भयो । तर, त्यसका […]
"/>मुगुका मुन्द्र शाहीले आफ्नो गाउँलेको बच्चा बिरामी भएर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए । उनले सोचेका थिए गाउँमा औषधि छैन यहाँ त होला, तर त्यसो पनि भएन । केन्द्रले कोरोना संक्रमणका कारण आकस्मिकबाहेका सेवा दिन छोडेको रहेछ ।
त्यसपछि उनी नजिकैको मेडिकलमा पुगे । उनले ल्याएको बच्चालाई निमोनिया भएकोले नेबुलाइजरबाट अक्सिजन दिनुपर्ने भयो । तर, त्यसका लागि चाहिने अस्थालिन नएर अक्सिजन दिन सकिएन ।
शाहीले भने, ‘मेडिकलमा अहिले सिटामोल पनि आउँन छोडेको रहेछ । अब कोरोनाबाहेका रोगीले औषधि नै पाएनन् भने कसरी बाँच्ने ?’
सुदूरपश्चि प्रदेशका पहाडी जिल्लामा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । ज्वरो, रूघाखोकी र टाउँको दुख्दा प्रयोग हुने औषधिहरू धनगढी र नेपालगञ्जका सप्लायर्सकहाँ सकिएको मेडिकल सञ्चालहरू बताउँछन् । उनीहरूका अनुसार भारतमा उत्पादित औषधि आउन छोडेपछि अभाव हुन थालेको हो ।
मुगु र हुम्लाका बिरामीलाई औषधि बेच्दै आएको कोल्टीस्थित नवीन मेडिकल हलका सञ्चालक नवीन शाही भन्छन्, ‘सप्लायर्सलाई रुघाखोकी र टाउको दुख्दा प्रयोग हुने औषधि सिटामोल भए पनि पठाइदिनुभन्दा एक ट्याब्लेट पनि छैन भन्छन्, यहाँ हामीले पहिले ल्याएको औषधिले धानेका छौँ, दम र निमोनियाका बिरामीलाई चाहिने औषधिको ठूलो अभाव छ ।’
उनका अनुसार दम र निमोनियाका बिरामीका लागि प्रयोग हुँने एजिथ्रो म्याक्सिन ट्याब्लेट, ब्रोफाम, फल्यक्जा, डेक्सोना इन्जेक्सन, डेक्सोना ट्याब्लेट, कोजिलो र अस्थालिनको आपूर्ति शून्य छ । बिरामीलाई सेवा दिन पनि कठिन भएको उनको भनाइ छ ।
बाजुराको सदरमुकामा सञ्चालित आरसी मेडिकलमा केही दिनका लागि मात्र औषधि स्टक छ । ‘साता दिनभित्र औषधिको सप्लाइमा सुधार भएन भने हामी बिरामीलाई औषधि दिन सक्दैनौँ । धनगढीमा औषधि अडर गर्दा आएको छैन भन्छन्, निमोनियाका लागि चाहिने अस्थालिन रोटाक्याप र सिटामोल पाइएको छैन,’ आरसी मेडिकलका सञ्चालक रामचन्द्र यादवले सुनाए ।
बडिमालिका नगरपालिकामा सञ्चालित शहरी स्वास्थ्य चौकीले औषधि खरिदको प्रक्रिया सुरु गरे पनि औषधि दिन सक्ने कुनै सप्लायर्स भेटिएको छैन । उक्त नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खण्डकाले भने, ‘हामीलाई औषधिको अभाव भएर औषधि किन्न खोजेका छौँ । हालसम्म औषधि दिने सप्लायर्स भेटेका छैनौँ, तीन/चार दिन भयो एक लाख डोज सिटामल खोजेको बल्लबल्ल ४० हजार डोज धनगढीमा भेटेका छौँ ।’
जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जोशीले पनि अस्पतालमा कोरोना संक्रमितका लागि औषधि राखेको बताए । अन्य बिरामीका लागि औषधि अभाव हुन थालेको र १५/२० दिनमा आपूर्ति नभए संकट पर्नसक्ने उनले सुनाए ।
उनले भने, ‘हामीकहाँ कोभिडका बिरामीका लागि जेनतेन औषधि छ । दमका बिरामी र निमोनियाका बिरामीको औषधिको कमी भएको छ । १५/२० दिनमा औषधि आपूर्ति भएन भने ठूलो संकटको सामना गर्न पर्छ ।’
औषधिको आपूर्ति गर्न समयमा ध्यान नदिए कोभिडले भन्दा पनि अन्य रोगले ज्यान गुमाउने अवस्था आउने नागरिक समाजका संयोजक अग्निराज शाहीले बताए ।