केही वर्षअघिसम्म गाउँमा ताेरी पेल्न कोलकाे प्रयाेग गरिन्थ्याे । धान कुट्न ओखल, पिठो बनाउन पानीघट्ट, अनि दाल ढुट्याउन जाँतो चलाइन्थ्याे । तर, हिजाेआज यिनकाे प्रयाेग विरलै हुन्छ, बरु लाेप हुने अवस्थामा पुगेका छन् । बाजुरा गौमुल गाउँपालिका- ४, पडिकोटकी ६४ वर्षीया बिउरी रोकाया घरको आँगनमा आवश्यक चामल ओखलमा कुटेर भान्सा चलाउँछिन् । तर, यही गाउँका अन्य […]
"/> गाउँघरबाट हराए घट्टा अनि जाँतो : ‘रेडिमेड’को बानीले खेतबारी बाँझो – शिंजापति

गाउँघरबाट हराए घट्टा अनि जाँतो : ‘रेडिमेड’को बानीले खेतबारी बाँझो

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ १२:१७:५६
गाउँघरबाट हराए घट्टा अनि जाँतो : ‘रेडिमेड’को बानीले खेतबारी बाँझो
केही वर्षअघिसम्म गाउँमा ताेरी पेल्न कोलकाे प्रयाेग गरिन्थ्याे । धान कुट्न ओखल, पिठो बनाउन पानीघट्ट, अनि दाल ढुट्याउन जाँतो चलाइन्थ्याे । तर, हिजाेआज यिनकाे प्रयाेग विरलै हुन्छ, बरु लाेप हुने अवस्थामा पुगेका छन् ।

बाजुरा गौमुल गाउँपालिका- ४, पडिकोटकी ६४ वर्षीया बिउरी रोकाया घरको आँगनमा आवश्यक चामल ओखलमा कुटेर भान्सा चलाउँछिन् । तर, यही गाउँका अन्य महिलाले ओखल छुन छाडेकाे धेरै भइसक्याे । उनीहरू धान कुट्न मिलतिर धाउँछन् ।

बिउरी भन्छिन्, ‘अहिलेका महिलालाई आनन्द छ । धान कुट्न बल पर्दैन, पिठो बनाउन घट्ट कुर्नु पर्दैन र ताेरी पेल्न कोल घुमाउनु पर्दैन । बाहाड (मोज) छ । हाम्रो उमेरमा बिहानै उठेर जाँतोमा दाल पिस्ने, धान मानाले भरेर, सुपोमा हालेर, ओखल बजाउनुपर्थ्यो, अब त्यो जमाना गयो ।’

बाजुराको गौमूल गाउँपालिका- ४ मा परम्परागत ओखलमा धान कुटेर चामल बनाउँदै गरेकी महिला । तस्वीर : निमेन्द्र शाही

सोही गाउँकी नन्दा रोकाया भन्छिन्, ‘हाम्रो घरमा भएको ओखल पनि खासै प्रयोग हुँदैन । गाडीमा धान र अरु अन्न लिएर मिलमा पठाउँछौँ । त्यहाँ केही समयमै कुटानी, पिसानी भएर अनाज घर पुग्छ । किन यसमै दु:ख गर्नु हामीलाई ? अहिले आराम भएको छ ।’

रमिला रोकाया भन्छिन्, ‘मिलमा कुटेको खाने कुरा अलिक कम स्वादिष्ट हुन्छ । तर, पनि सजिलो र चाँडोका लागि हामीले मिलकै सहारा लिन थालेका हाैँ । पहिलेका महिलाले साह्रै दु:ख पाएका रहेछन् । बिहानै उठेर ओखल, मुसलसँग खेल्नुपर्ने बाध्यता थियो ।’

बडिमालिका नगरपालिकाका टेकबहादुर रावल भन्छन्, ‘पहिले बारीभरि तोरी लगाइन्थ्याे । त्यसले वर्षभर पुग्ने तेल कोलमा पेलेर राख्ने, त्यसको पिना नुहाउन प्रयोग हुन्थ्यो । तर, अहिले कोल हुने डाँडाहरू नाम मात्रका छन् । बजारबाट आउने प्याकेटका तेलले त्यो सबै सक्यो । न बारीमा तोरी छ, न डाँडामा कोल ।’

स्वामीकार्तिक खापर गाउँपालिका- ३, जुकोटका पदमबहादुर शाही भन्छन्, ‘पहिले रातभरि पानीघट्टमा लाइन बस्नुपर्थ्याे । बिहान कति खेर पालो आयो, त्यही बेला पिस्न पाइन्थ्याे । अहिले गाउँमा मिल आएको छ । त्यसले धेरै सघाउ पुगेकाे छ ।’

बजारमा सजिलै तेल खरिद गर्न पाइने भएपछि खर्चिलो समय, तेल पेल्न अप्ठेरो भएकाले तोरी खेती कम हुँदै गएको छ । किसानलाई मिसावटयुक्त पोका तेलबाट स्वास्थ्यमा हुने बेफाइदाका बारेमा भने जानकारी छैन ।

अहिले तोरी खेती कम हुँदै गएको छ भने परम्परागत रूपमा तेल निकाल्न प्रयोग हुने कोल पनि लोप हुँदै गएको पाइन्छ ।

बाजुराको हिमाली गाउँपालिका- ५ मा ओखरको गुदीबाट तेल निकाल्न लागेकी महिला । तस्वीर : निमेन्द्र शाही

तोरीको व्यावसायिक खेती नहुँदा किसानलाई घाटा भएको बारेमा भने कसैले सोचेको देखिँदैन । खर्चिलो हुने भएपछि तोरी रोप्न छाडेर पोकाको तेल प्रयोग गर्न थालेको हिमाली गाउँपालिका- ५, बोल्ढीकका देवी पाण्डेले बताए ।

पहिले अन्य तेल पाइँदैन थियो । तोरीखेतीबाटै तेल उत्पादन गरिन्थ्यो । अहिले पोका तेलले किसानलाई अल्छी बनाएको उनको भनाइ छ । हाल गाउँघरमा पहिलेको तुलनामा करिब १० प्रतिशतले मात्र तोरीखेती गर्ने गरेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

जिल्लाका अधिकांश गाउँ तोरीखेतीका लागि उपयुक्त रहेको केन्द्रको भनाइ छ । तोरीखेती कम भएसँगै तेल पेल्ने कोल पनि लोप भएको छ भने माहुरीको संख्या पनि घट्दै गएको किसाहरूकै अनुभव छ ।

आफ्नै बारीमा उत्पादित तोरीखेतीको महत्त्व नबुझ्दा किसानले यो खेती छोडेका छन् । अब यसको महत्त्वबारे जानकारी गराइने त्रिवेणी नगरपालिकाका कृषि शाखा प्रमुख मानबहादुर रावलले बताए । तोरी खेती बढाउँदा जिल्लाबाट बाहिरिने धेरै आर्थिक स्रोत बचत हुने उनले बताए । सोही कारण कृषकलाई यसको महत्त्व र फाइदा बुझाउने तथा व्यवसायी बनाउन सके तोरीखेतीतर्फ आकर्षित गर्न सकिने उनी बताउँछन् ।

स्वामीकार्तिक खापर गाउँपालिकाका ६४ वर्षीय कान्तबहादुर शाहीले भने, ‘यसरी परम्परागत सामग्रीको प्रयोग प्रविधिका हिसाबले कम प्रयोग हुनु राम्रो हो । समयको बचत हुन्छ । किफायती पनि हुन्छ । तर, आफ्नो परम्परा छोडेर सबै बाहिरको भरमा पर्दा हाम्रो समाज परनिर्भरतातर्फ पो डोरिने हो कि ?’

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ १२:१७:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।