अक्सर पर्यटककाे राेजाइमा पर्ने जिल्ला हाे बाजुरा । प्राकृतिक साैन्दर्यले सजिएकाे बाजुरामा खप्तड, बडिमालिका, बुढीनन्दा, पादुका, शाहीमाडौंजस्ता धार्मिक पर्यटकीयस्थल छन् । खप्तड दह, छेडेदह, बुढीनन्दा ताल, कैलाश ताल, चरी दह, खुन्का दह, निरंकारी ताल यहाँका जलाधार क्षेत्र हुन् भने नौन्याल गुफा, गणेश गुफा, पाण्डव गुफा र मानासरको दायाँपट्टिको डाँडो काटिएर बनेको पादुका त्रिवेणी कुण्ड र कर्णालीमा […]
"/> रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै ! – शिंजापति

रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ १२:४७:२८
रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !

खप्तड दह, छेडेदह, बुढीनन्दा ताल, कैलाश ताल, चरी दह, खुन्का दह, निरंकारी ताल यहाँका जलाधार क्षेत्र हुन् भने नौन्याल गुफा, गणेश गुफा, पाण्डव गुफा र मानासरको दायाँपट्टिको डाँडो काटिएर बनेको पादुका त्रिवेणी कुण्ड र कर्णालीमा सञ्चालन भएको र्‍याफ्टिङ पर्यटकका आकर्षण ।

खप्तडदेखि रारासम्म पैदल यात्रा गर्दा, देउडा, भुवा चाली, भोटेसेलो, अनन्त्य, चाँड्ची, गौरा, पुल्ती खेल, बालानाच, हुड्केउली, भारीखेल, रत्याडीलगायतका सांस्कृतिक गतिविधिले पनि पर्यटकलाई माेहित तुल्याउँछन् । रारा पुगेपछि त्यहाँकाे सुन्दर र मनोरम दृश्यप्रति त पर्यटक नतमस्तक हुन्छन् नै ।

कर्णाली

राराबाट खप्तड जाने पर्यटकलाई यिनै सांस्कृतिक गतिविधिले एकछिन पनि पट्यार मान्न दिने छैनन् ।त्यसैले पनि बाजुरालाई राराको पुलका रूपमा विकास गर्न जरुरी रहेकाे यस क्षेत्रका अगुवाहरू बताउँछन् ।

खप्तड

हिउँको राजधानी, लालीगुराँसको बगैँचा, यस्तैयस्तै उपनाम पाएकाे छ, सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडले । पलपल बदलिने माैसम, घाम र बादलकाे लुकामारी, फेरि सिमसिमे पानी । प्रकृतिकाे अनुपम छटाले भरिपूर्ण छ खप्तड । घाँसे मैदानबीचबाट नीला रङका नागबेलीजस्ता स–साना खोला चालहीन बनेर अनवरत बगिरहेका छन् ।

यही सुन्दरताले भरिपूर्ण खप्तड सुदूरपश्चिमका चारवटा पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम र डोटीको संगमस्थलमा अवस्थित छ । सुदूरपश्चिम घुम्ने पर्यटकले खप्तड नघुमे यात्रा अधुराे हुन्छ । समुद्री सतहबाट १२ हजार फिटको उचाइमा रहेकाे खप्तड सुदूरपश्चिमको चर्चित धार्मिक पर्यटकीयस्थल हाे ।

मानवबस्तीहीन लेकमा अवस्थित खप्तड १ हजार २४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २ सय २५ वर्ग किलोमिटर क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जको नाममा छुट्याइएको छ । खप्तडको पर्यटन विकासका लागि भनेर सरकारले पर्यटन मन्त्रालयअन्तर्गत खप्तडक्षेत्र पर्यटन विकास समितिका नामले एक निकाय स्थापना पनि गरेको छ तर पनि हुनुपर्ने विकास र प्रचार भएको देखिँदैन ।

खप्तडमा हिउँदको कात्तिक, मंसिरसम्म गर्मी र चैत, वैशाखसमम्म हिमपात हन्छ । यसबाहेक बाँकी समयमा यहाँ घुम्नका लागि उपयुक्त मौमस मानिन्छ । यहाँ २२ पाटन (मैदान) ५२ झोती (थुम्का) र २६ डोप्का (दह) छन् । खप्तड क्षेत्रको मुख्य धार्मिकस्थलमा त्रिवेणी धाम, सहस्त्रलिङ्ग, खप्तड दह, नागढुङ्गा, बाबाकुटी, केदारढुङ्गा र छिन्टेढुङ्गा, भीमलौरी, खोपेढुङ्गा, भीमघट्ट, जेठी बौरानी ढुङ्गालगायत छन् ।

बडीमालिका (यस ठाउँकाे बारेमा तल उल्लेख गरिएकाे छ)

यी सबै धार्मिकस्थलको आ–आफ्नै महत्त्व छ । यहाँ आउने पर्यटक प्राय:जसो सबै धार्मिकस्थलको भ्रमण गर्ने गर्छन् । एक ठाउँबाट अर्को ठाउँ जान १ देखि २ घण्टाको समय लाग्छ । हिमालीक्षेत्रमा पर्ने खप्तडबाट तीनतिर ५ हजार फिट अग्ला पहाड र उत्तरपट्टि साइपाललगायका हिमालहरू अवलोकन गर्न सकिन्छ । । खप्तडका पाटनहरू चुन (लेकाली घाँस) र विभिन्न रङ्गीचङ्गी फूलहरूले शोभायमान छन् । खप्तडमा पर्ने खापरदह, जसलाई खप्तड ताल पनि भनिन्छ, यो संरक्षणको अभावमा पुरिँदै थियाे । अहिले खप्तड क्षेत्र पर्यटन विकास समितिले त्यसलाई मर्मत गरिसकेको छ ।

यहाँ जेठ महिनामा पर्ने गंगा दशहरामा ठूलो मेला लाग्छ । पूजामा बडिमालिकाको बाइस धाराको जल लिएर पूजा लाग्छ । यो मेलाका समयमा देशका विभिन्न स्थान र भारतबाट समेत भक्तजन आउँछन् ।

खप्तड

खप्तडमा पर्ने छिन्टेढुङ्गाको महत्त्व पनि विशेष छ । यसको बीच भागमा रहेको प्वालमा मानिस सजिलै छिरे पाप नष्ट हुने विश्वास छ । खप्तडक्षेत्रवरिपरिका मानिस यसको महत्त्व बढाउन श्री १००८ परमहंस स्वामी सच्चिदानन्द सरस्वती अथवा खप्तडबाबाको ठूलो योगदान रहेको बताउँछन् ।

किंवदन्तीअनुसार पाँच पाण्डवका बलवान् मानिएका माहिला भाइ भीमले परापूर्वकालमा हलो जोत्दा फैलिएका माटोका ढिस्काहरू नै झोती (डल्ला-डल्ला भएर बसेकाे माटो) बनेका हुन् ।

खप्तडस्वामी धेरै पहिला भारतबाट नेपाल आएर नेपालका विभिन्न ठाउँ घुम्दै २००३ सालमा बझाङ आएका थिए । बझाङका तत्कालीन बाइसे–चौबीसे राजा रामजङ्गबहादुर सिंहले खप्तडमा उनका लागि बस्ने कुटी बनाइदिएपछि उनी त्यहाँ बसेको बताइन्छ । बाबा पढाइले एलोप्याथिक डाक्टर भए पनि आयुर्वेदिक उपचार मन पराउँथे । उनले विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो धर्म, नारी र पुरुष धर्म, आत्माज्ञान र स्वास्थ्यका बारेमा एक दर्जनजति किताब लेखेका थिए ।

खप्तडमा २४ प्रजातिका स्तनधारी, १७ प्रजातिका घस्रिने जनावर, २ सय ९० प्रजातिका चरा, ३ प्रजातिका माछा, ६ प्रजातिका उभयचर, १८ प्रजातिका कीरा, ५७ प्रजातिका रुख तथा ४ सय प्रकारका जडीबुटी र १ सय ९२ प्रजातिका सप्तरङ्गी फूल पाइन्छन् । प्राचीनकालमा ऋषिमुनिहरूले तपस्या गरेको स्थानका रूपमा धार्मिक ग्रन्थहरूमा चर्चा गरिएको खप्तडमा दर्शन गर्न गएका मानिसहरू त्यहाँका माईस्थान, सहस्त्रलिङ्ग, नागढुङ्गा, खप्तडबाबा कुटी, खप्तड दह,  सीतापाइला र त्रिवेणी स्नानघाटमा दर्शन गर्छन् ।

बडिमालिका

सुदूरपश्चिमकाे प्रसिद्ध अर्काे धार्मिकस्थल हाे बडिमालिका, जुन बाजुरामै पर्छ । यहाँ जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुन्छ । बडिमालिकामा चतुर्दशीमा मूलपूजा गर्न मेला लाग्छ । जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटक, बाजुरास्थित सरकारी कार्यालयको पूजा टोली र स्थानीय पर्यटकसहित भक्तजनहरू बडिमालिका पुग्छन् ।

औपचारिक पूजाआजा गर्नुपर्ने परम्पराअनुसार छिमेकी जिल्ला अछाम, डोटी, जुम्ला र कालीकाेटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री बडिमालिका आउने गरेका छन् ।

बडिमालिका पूजाका लागि डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने चलन अहिले पनि छ । अछामको वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडिमालिकामा चढाउने परम्पराअनुरूप एक टोली १५ दिनअघि प्रस्थान गर्ने चलन छ ।

बाजुराबाट बडिमालिका पुग्न तोकिएका स्थानमा बसेर तीन दिन लगाउनैपर्ने परम्परा छ । सोही मान्यताअनुसार जिल्लाभित्रका तीर्थयात्री आउने गरेकाे पूजारी भानुभक्त जोशीले बताए ।

कैलाशमाडाैं गाविसमा पर्ने बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्त्व विशिष्ट छ । मागेको बरदान पूरा हुन्छ भन्ने विश्वासले बडिमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउँछन् । स्कन्दपुराणमा उल्लेख भएअनुसार दक्ष प्रजापतिको यज्ञमा आफ्नी पत्नी सतीदेवीले हामफालेपछि महादेवले उनकाे मृत शरीरलाई बोकेर पदयात्रा गर्दै जाने क्रममा मल्लागिरी पर्वतमा सतीदेवीको बायाँ अङ्ग खसेकाे थियो । यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडिमालिका एक प्रमुख शक्तिपीठको रूपमा स्थापित भएको हो ।

यस क्षेत्रको प्राकृतिक सुन्दरताले बडिमालिकाको महत्त्व अझ बढाएको छ । यसकाे अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा बाह्य पर्यटकसमेत यसैबेला बडिमालिका पुग्छन् । २२ पाटन, त्रिवेणी र खेतीवेती बडिमालिकाका मुख्य आकर्षण हुन् । करिब १४ हजार फिट उचाइमा रहेको भूमिमा रहेका समथर हरिया फाँटहरू अनि ढकमक्क फुलेका दर्जनौँ प्रजातिका फूलले जाेकाेहीलाई लाेभ्याउँछन् ।

बुढीनन्दा

विश्वमै सर्वाधिक उचाइमा रहेको ताल हाे तिलिचो । त्यसपछिको रेकर्डमा गनिन सक्ने तालसमेत नेपालमै छ भन्ने धेरैका लागि नौलो लाग्न सक्छ । तर, बाजुराको बुढीनन्दाक्षेत्रमा रहेको ताल विश्वकै दोस्रो उचाइमा भएर पनि ओझेलमा छ ।

हालसम्म धार्मिक आस्थाको धरोहर र अपार प्राकृतिक छटाहरूको सुन्दरताका दृष्टिले महत्त्वपूर्ण मानिएको बुढीनन्दा क्षेत्रमा रहेको ताल विश्वमै दोस्रो उचाइमा रहेको तथ्य सार्वजनिक भएपछि यस क्षेत्रको महत्त्व भने बढेको छ ।

बुढीनन्दादेवीकाे मन्दिरसँगै चट्टानै चट्टानको बीचमा ठूलो ताल छ । यसवरिपरि अन्य नौवटा ताल पनि छन् । मुख्य तालको उचाइ समुद्री सतहबाट ४ हजार ५ सय ८१ मिटर छ । तालको लम्बाइ, चौडाइ तथा गहिराइबारे आधिकारिक तथा विस्तृत अध्ययन भने सरकारी निकायबाट भएको छैन ।

‘मुख्य तालको वरिपरि परिक्रमा गर्न करिब डेढ घण्टा लाग्छ’, स्थानीयवासी रामबहादुर बोहरा भन्छन्, ‘यो ताल ठूला पहाडहरूको बीचमा गोलो आकारमा छ ।’

‘लौरीविनायक, खेतीबेती, बर माग्ने डाँडो, गाईगोठ, धौलीगाड, धनभडार, छाप्रेपाटनलगायतका मनमोहक स्थान बुढीनन्दामा छन् । ‘बुढीनन्दा पुग्ने जाेकाेहीकाे मन चङ्गा हुन्छ, घोडा र भेडाका लस्कर तथा गाईभैँसीका गोठहरू पनि देखिन्छन्’, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री जनकराज गिरीले भने ।

प्रकृतिप्रेमी र धार्मिक आस्था राख्ने हरेकले एकपटक बुढीनन्दा पुग्दा आनन्द महसुस गर्ने उनले बताए ।त्यहाँ जाँदा बाटोमा ठूल्ठूला झरना अनि सुन्दर पाटनहरूमा कैयौँ प्रजातिका रङ्गीचङ्गी फूलले संसारकै सुन्दर बगैँचाहरूको झल्को दिने  बुढीनन्दा पुगेर फर्केकाहरू सुनाउँछन् ।

देउडामा महिलाहरू

स्थानीयवासी नवीन शाहीले दिएको जानकारीअनुसार त्यस क्षेत्रमा फूलदह, चरीताल, कैलाश ताल, राक्षसीताल, मष्टाताला, सुनन्दा ताल, बुढीनन्दा ताललगायतका नौ ताल छन् । बाटोमा हिँड्दा मृगकाे बथानको दृश्य र यार्स्यागुम्बा, कटुकी, हत्ताजरी, बाहजरी र जटामसीलगायतका सयौँ जडीबुटी पाइने गरेका छन् ।

खप्तड राष्ट्रिय निकुञ्जबाट हुँदै रारा जाने पर्यटकका लागि यो बीच बाटोमा पर्ने महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र हो । यसको आफ्नाे छुट्टै पहिचान छ । दर्शनका लागि भारतको कुमाउ, गढवाल, नेपालका बझाङ, बाजुरा, हुम्ला, जुम्लालगायतका ठाउँबाट तिर्थालुहरू आउने गरेका छन् ।

बुढीनन्दा अवलोकनका लागि जाने सर्वोत्तम समय साउन, भदौ हो । जनैपूर्णिमामा त्यहाँ भव्य मेला लाग्छ । कोल्टी गाविसमा पर्ने यो क्षेत्रमा पुग्न सदरमुकाम मार्तडीदेखि चार दिन पैदल हिँड्नुपर्छ । बुढीनन्दा भगवतीका नामले त्यस क्षेत्रको नामकरण भएको किंवदन्ती छ । प्राकृतिक सुन्दरतासँगै आस्तिकहरूका लागि धरोहर पनि हो बुढीनन्दा । बुढीनन्दा ताल छेवैमा भगवतीको मन्दिर छ । त्यहाँ जाने पर्यटकले  मन्दिरमा भक्तिभावले पूजाआजा गर्ने कोल्टीका स्थानीय खडक बोहराले बताए ।

ताल तथा मन्दिर रहेको स्थाननजिकै करिब आधा दिनको क्षेत्रमा खाली खुट्टाले हिँड्नुपर्ने र बुढीनन्दा क्षेत्रमा दुई दिन बास बस्नुपर्ने हुन्छ । त्यो पनि सुविधासम्पन्न घर र टेन्टमा होइन । प्राकृतिक गुफाहरूमा बसेर रात काट्नुपर्छ । ‘यसबीचमा चट्टानै चट्टानमा हिँड्नुपर्ने धार्मिक परम्परा छ’, बोहराले भने ।

बुढीनन्दा पुग्न नेपालगञ्ज हुँदै कोल्टीको हवाईयात्रा सहज छ । कोल्टीदेखि अढाई दिनमा पुगिन्छ । बाटोमा होटलहरूको व्यवस्था नभए पनि गोठालाहरूले पर्यटक तथा दर्शनार्थीहरूको भव्य स्वागत सत्कार गर्छन् ।

रारा

२०२० साल चैत महिनाको उखरमाउलो मौसममा मुगुको रारा ताल पुगेका तत्कालीन राजा महेन्द्रलाई राराले शीतलता मात्र दिएन, कविता कोर्न बाध्य पार्‍यो । संसारकै राजा महाराजाहरू कठोर हुन्छन् । भनिन्छ, कतै त झुक्न र पग्लिन पनि सक्नुपर्छ भन्ने सभ्यताले राजदरबारमा प्रवेश पाएकै हुँदैन । उतिखेर राजा महेन्द्र पनि झुक्नका लागि होइन, बहादुरी प्रदर्शन गर्न रारा पुगेका थिए ।

काठमाडौंबाट घोडा चढेर विकट मुगुको रारा पुग्नुपछाडि महेन्द्रको खास उद्देश्य थियो- रारा राष्ट्रिय निकुञ्जमा बँदेलको सिकार । तर, जब रारा तालको किनारमा महेन्द्रले घोडा रोके, घोडाबाट झरेर धुपीको रुखमुनि सुस्ताए र राराको नीलो पानीमा एकटक घोरिए, राराकाे साैन्दर्यप्रति नतमस्तक भए उनी ।महेन्द्रले राराको नाममा कविता कोरे, आफ्नै नामलाई पनि घोलिदिए, राराको कञ्चन पानीमा । संयोग नै भनौँ, असिना पानीका कारण पनि महेन्द्रको बँदेल सिकार गर्ने योजना असफल भयाे । राराबाट पूरै पग्लिएर फर्किए, राजा महेन्द्र ।

राराको बयान सुन्दा र फोटो देख्दा लाग्छ, मान्छे त धुइरो लाग्छन् होला रारामा ! तर, यथार्थ फरक छ । रारा प्रायः एक्लै हुन्छ । ठूला–ठूला पहाडहरूको बीचमा । नीलो मसी पोखिएजस्तै पानी, पानीको छेवैसम्म सल्ला र धुपीका रुखहरू उभिएका, चारैतिर हराभरा तर सुनसान । महिनाको एक/दुई पटक हेलिकाेप्टर चढेर आउने थोरै पर्यटकले मात्रै राराको सफा, सुन्दर र निर्मल अनुहार कैद गरेर फर्किएका हुन्छन् ।

पर्यटकीय गन्तव्य भनेपछि स्वीट्जरल्याण्डकै किन कुरा गर्नुपर्‍यो ? छिमेकी भारतकै नैनी तालमा पर्यटक ओइरिएकाे देख्दा अचम्म लाग्छ । तर, रारासामु त नैनी तालको साैन्दर्य फिक्का लाग्छ । रारा त कति हो कति सुन्दर ! तैपनि नैनी तालको तुलनामा धेरै कम पर्यटक पुग्छन् रारामा, किन ? जवाफ सहज र सटिक छ । विकट मुगुको सुन्दर राराको प्रचार गर्ने र पर्यटक पुर्‍याउन पहल गर्ने काम राज्यस्तरबाट राम्राेसित भएकै छैन ।

नेपालको सबैभन्दा सानो जिल्ला, मुगु । मुगुमै पर्ने देशकाे सबैभन्दा सानो निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज । र, यही निकुञ्जको आडैमा सुतिरहेको देशकै ठूलो ताल रारा । नेपालमा रहेका ८ सय ६७ प्रजातिका चरामध्ये रारामा २ सय ३६ प्रजाति पाइन्छन् । धेरैजसो भारत र तिब्बत हुँदै साइबेरिया ओहोरदोहोर गर्ने हाँसहरू छन् । हाँस, जलेवा, कर्‍याङकुरुङजस्ता चरा जलक्रीडामा मग्न भएको देख्दा आफूलाई पनि उनैको आनन्द चोर्न मन लाग्छ । त्यसैले पनि होला, नेपाली सेनाका जवानले त्यहाँ पुग्ने पर्यटकलाई केही बेर डुंगा सयर गराएर फुरुङ्ग बनाइदिन्छन् ।

रारामा पाइने तीन प्रजातिका असला माछा संसारमा अन्त कतै भेटिँदैनन् । रंग बदलिरहने राराको कञ्चन पानीमा माछाको गतिविधि नांगो आँखाले नियाल्दा टोलाइराख्न मन लाग्छ ।

समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटरमा रहेको तालको लम्बाइ ५ किलोमिटर छ । चौडाइ ३ दशमलव २ किलोमिटर, गहिराइ १ सय ६७ मिटर र क्षेत्रफल १० दशमलव ८ वर्ग किलोमिटर छ ।

नेपालगञ्ज–ताल्चा र नेपागञ्ज-सुर्खेत-हुम्ला जाने जहाजले राराको फन्को मारेर आनन्द लिन मद्दत गर्छन् । आकाशबाट हेर्दा उपत्यकाजस्तो लाग्ने रारा गाढा नीलो देखिन्छ । जेठदेखि असोजसम्मको मौसममा विभिन्न फूल पहिरिएर स्वर्गकी अप्सराझैँ देखिने रारा तालको शोभा रारा निकुञ्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएका हुन्छन् । सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर बस्दा त वर्णन गर्ने शब्द नै पुग्दैन । राराबाट पश्चिमतर्फ ३ घण्टा हिँडेपछि पुगिने मुर्माटपबाट राराको मनोरम दृश्य र सैपाल हिमाल, बुढीनन्दा र बडिमालिकाको अवलोकन गर्न पाइन्छ ।

रारा जाने बाटाहरू

खप्तडाबाट रारा जाँदाको आनन्द बेग्लै हुन्छ । बडिमालिका, बुढीननन्दा, छेडेदह, पादुका र कर्णाली नदीको प्राकृतिक सुन्दरता छुट्दैन । जहाजको प्रयोग गर्ने हो भने कोल्टी एरपोर्टमा झरेर पादुकाहुँदै कर्णालीको तिरैतिर खत्याड खोलामा मिलेर डोरेटो देखाउन आएकी प्रेमिकाको भान हुन्छ रारा पुग्दा ।

उतिखेर राजा महेन्द्रको पालामा सुर्खेतबाट दुई हप्ता हिँडेर मात्रै रारा पुग्न सकिन्थ्यो । तर, अहिले हवाई उडान र मोटरबाटोको सुविधा राराको नजिक–नजिक पुगेकाले लामो समय लाग्दैन । मोटर चढेर जान चाहनेका लागि जुम्लाको बाटो पहिल्याउनुपर्छ र गमगढीबाट केही समयको उकालोपछि प्रेमिकालाई भेट्न हिँडेको जस्तो महसुस हुन्छ रारा पुग्न । त्यस्तै, बाँकेको नेपालगञ्ज र सुर्खेतबाट हवाई उडानमा मुगुको ताल्चासम्म पुगिन्छ । र, ताल्चाबाट केही घण्टा हिँडेपछि रारा पुग्न सकिन्छ ।

मानसराेवर जान नसक्नेलाई पादुका सहज 

 

बाजुराको पादुका

चीनको स्वशासित क्षेत्र तिब्बतमा पेर्ने मानसरोवर धार्मिकस्थलमा जान नसक्ने दर्शनार्थीलाई बाजुराको पादुकामा दर्शन गरे हुन्छ । मानसरोवरको दायाँपट्टिको पर्वत पादुकामा आएर मात्र काटिन्छ । त्यहाँ स्वामीकार्तिकबाट आएको पर्वत र बडिमालिकाबाट आएका पर्वतहरू एकैठाउँमा आएर कर्णालीको कुण्डमा त्रिवेणी बनेको छ, जो पादुका हो ।

मानसराेवरको मुहानबाट, जमिनको सतहमुनीबाट आउने  पानीको केही अंश पादुका कुण्डमा निस्कने भएकाले यसको खास महत्त्व छ । शिवपार्वतीको मूर्ति आकृतिकाे पहाडको दाहिनेपट्टिको अकाट्य पर्वत बाजुराको पादुका कुण्डमा कर्णाली नदीले काटेको छ । त्यही पहाडको मुनि हुँदै पानी पादुका कुण्डमा आउने गरेको हिमाली गाउँपालिका–६ का मनवीर अधिकारी बताउँछन् । उनले भने, ‘यो कुण्डमा हरेक वर्षको मकर संक्रान्तिका दिन राति कर्णाली नदीको बीचमा र त्यो पानी मिसिने ठाउँमा आगोको मुस्लो देखिन्छ ।’ मानसराेबर जान नसक्नेले यहीँबाट जल भरेर लिने गरेको अधिकारीले बताए ।

यस क्षेत्रमा स्थानीयले पुर्खाैंदेखि मान्दै आएको पादुका मन्दिरको संरक्षण र सम्बर्द्धन गर्न आवश्यक रहेको स्थानीय बासिन्दा बताउँछन् । तर, अहिलेसम्म संरक्षणका लागि भने खासै काम भएको देखिँदैन ।

बाजुराकाे मार्तडी

जिल्लाका बडिमालिका, बुढीनन्दा, खप्तड, छेडदह र पोरखे गुफालगायत दर्जनौँ धार्मिक एवं पर्यटकीय स्थलभन्दा बढी महत्त्व बाेकेकाे पादुका कुण्ड क्षेत्र हो । ‘पादुका मन्दिर भएको पर्वत र पादुका कुण्ड प्रसिद्ध धार्मिकस्थल हाे । याे मानसरोवर जाने मार्ग पनि हाे’, पादुका मन्दिरका पुजारी मष्टाप्रसाद उपाध्यायले भने ।

मानसरोवरसम्मको अकाट्य डाँडाबाट जल बगेर आएको हुन सक्ने धार्मिक विश्वास छ । पौराणिक किंवदन्तीअनुसार मानसरोवरबाट स्नान गरी फर्केका दर्शनार्थीले पादुकाको दर्शनभेट गरी जल भरेर लैजाने चलन छ । उक्त जल घर तथा मन्दिरमा राख्नाले घरको सृष्टि हुने र आपसमा सद्भाव जागृत हुने जनविश्वास छ ।

हरेक वर्ष भारतबाट यही बाटो भएर मानसरोवर जानेको संख्या नगण्य हुन्छ । नेपालका अरु बाटोभन्दा याे बाटोकाे प्रयाेग पर्यटकका लागि सहज रहेकाे वाई गाविसका कपुर गिरीले बताए । उनका अनुसार बाजुराको यो स्थानमा आउन सजिलो र कम खर्चिलो छ ।

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ १२:४७:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।