अहिले ग्रामीण बस्तीमा केही वर्षअगाडिको जस्तो कहालीलाग्दा दृश्य कमै मात्र खिच्ने अवसर मिल्दछ । सुविधा र चेतनाले ग्रामीण रहनसहनमा कोल्टो फेराएको छ । अझ सरसफाइका कुरा गर्दा ‘आची भेटियो कि गाउँ आयो’ भन्ने उखान झुटो सावित हुँदै गएको छ । रहनसहन, खानपिन आधुनिकतातिर जाँदा धेरै राम्रो भएको छ । पछिल्लो समय बाजुराका ग्रामीणक्षेत्रका स्थानीयले सरसफाइका […]
"/> घरघरमा गाडिएका राता, हरिया र पहे‌ँला झण्डाकाे अर्थ बुझ्नुहाेस् – शिंजापति

घरघरमा गाडिएका राता, हरिया र पहे‌ँला झण्डाकाे अर्थ बुझ्नुहाेस्

  • शिंजापति न्युज
  • बुधबार, भदौ ९, २०७८ ११:१८:0३
घरघरमा गाडिएका राता, हरिया र पहे‌ँला झण्डाकाे अर्थ बुझ्नुहाेस्

२०७२ को संविधानको मौलिकहकअन्तर्गत स्वच्छ वातावरणको हक (धारा ३०,९१) मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक हुनेछ र स्वास्थ्यसम्बन्धी हक (धारा ३५, ९४) मा प्रत्येक नागरिकलाई खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने कुरा कानुनले बोलेकाले हामी सबैले कानुनको पालना गर्नु अनिवार्य पनि छ  ।

‘जमाना फेरिएसँगै हाम्रो आनीबानी पनि फेरिएको छ । अहिले र पहिलेको गाउँमा धेरै फरक छ । बजारबाट गाउँ आउँदा गाउँ पुग्न केही टाढैबाट बाटोभरि दिसा भेटिन्थ्यो, अहिले गाउँमा त्यस्तो अवस्था छैन । हामी सबैको घरमा चर्पी छन् । केटाकेटीदेखि बुढाबूढी सबै चर्पीमा नै दिसा गर्छन् । कस्तो राम्रो भएको छ,’ हिमाली गाउँपालिका–४ का छप्की बुढाले बताए ।

उनले भने ‘अहिले उहिलेको जस्तो बिहानै बाटोमा हिँड्ने बटुवाले समेत देख्ने गरी दिसा बस्नुपर्ने अवस्था छैन । त्यो समस्याबाट सबै गाउँलेले उन्मुक्ति पाएका छौँ । यो चेतना भने हाम्रो गाउँमा बढेको छ ।’

त्यस्तै, स्वामीकार्तिक–१ का मनबहादुर रोकाया भन्छन्, ‘विद्यालय जाँदा शनिबार लुगा धुन कस्तो गाह्रो थियो । साबुन सबैको पहुँचमा थिएन, रिट्ठो, मुजिनु, हात्तीबाडाले लुगा धुनुपर्थ्याे । खरानीमा ठूला लुगा उमालेर त्यसले कपडा धुनुपर्ने बाध्यता थियो । अहिले सबैको घरघरमा साबुन पुगेको छ । कति सजिलो भएको छ ।’

उनले थपे, ‘अहिले जन्मने पुस्ता भाग्यमानी हो । हामीले खुट्टामा चप्पलसम्म लगाउन पाएनौँ । स्कुलमा बस्ने ढुङ्गा र हातमा पढ्नका लागि सिलौटो हुन्थ्यो । सिलौटोमा लेख्यो, ढुङ्गामा बस्यो, शरीरभरि धुलैधुलो हुन्थ्यो । अहिले त्यो छैन ।’

‘हाम्रो गाउँको तल नाउँला (कुवा) को पानी गाउँभरिकाले खानुपर्ने बाध्यता थियो । बिहान धेरै जना हुने भएकाले झगडा हुन्थ्यो, अहिले गाउँगाउँमा धारा छन् । पानीका लागि झगडा पनि हुँदैन । कस्तो आनन्द भएको छ । पहिलेपहिले लाइनमा बसेकाहरूले राम्रो पानी पाउँथे । पछिपछि पानी पाउनेहरूले हिलाम्मे पानी खानुपर्ने बाध्यता थियो,’ त्रिवेणी नगरपालिका–३, पुर्बुताका पदमबहादुर बुढाले आफ्नो विगतबारे सुनाए ।

अहिले गाउँमा धेरै कुरामा परिवर्तन आएको, पहिलेको जस्तो फोहोर नहुने र भइहालेमा पनि कसले गरेको भनेर खाेजी गरिनाले गाउँ सफा भएको बुढाको भनाइ छ ।

त्यस्तै, खप्तड छेडदह गाउँपालिका–४ की सतु देवी बुढाले अहलिे हरेक घरमा चर्पी बनाएको, घरअगाडि जुठ्यान र भाँडा सुकाउनका लागि चाङ बनाइएकाले आफूहरूलाई सजिलो भएको सुनाइन् ।

गाउँभरि झण्डा

अहिले यस क्षेत्रका घरहरूमा तीनथरी झण्डा देख्न सकिन्छ । जसको घरमा चर्पी प्रयोग भएको छैन, त्यो घरमा पहेँलो झण्डा, जसकोमा चर्पी प्रयोग भएको छ तर जुठ्यान र भाँडा सुकाउने चाङ बनेको छैन, त्यस्तो घरमा रातो झण्डा राखिन्छ ।

त्यस्तै, जसको घरमा पूर्ण सरसफाइका सबै सूचक पूरा गरिएको छ, त्यो घरमा हरियो झण्डा राख्ने गरिएको छ ।

गौमुल गाउँपालिका–४ का गणेशबहादुर रोकाया भन्छन्, ‘तीन थरी झण्डा राख्ने नियम बनाएर गाउँलाई सफा राखेका छौँ । हरियो झण्डा भएको घरले पहेँलो र रातोलाई दबाब दिने र पहेँलोले रातोलाई दबाब दिन्छन् । आफ्नो घरमा पहेँलो झण्डा हटाएर हरियो झण्डा राख्ने होडबाजी नै चल्यो, जसले गाउँलाई सफा राख्न मद्दत पुर्‍यायो ।’

सरसफाइ गर मात्र भन्दा कसैले नगर्ने तर यसरी अभियानकै रूपमा कार्यक्रम चलाएपछि भने गाउँ सफा भएको गौमुल  गाउँपालिका–४ का वीरेन्द्र रोकायाले बताए । गाउँले अपनाएको यो पद्धति सबैका लागि नयाँ र नौलो बनेको उनको भनाइ छ ।

पानीजन्य रोगी घटे

बाजुरा जिल्लाका ग्रामीण बस्तीहरूमा मौसम परिवर्तन भएको समय र गर्मीमा हैजा र झाडापखालाजस्ता प्रकोप बढ्ने र त्यसलाई नियन्त्रण गर्न हम्मेहम्मे हुन्थ्यो । तर, अहिले गाउँ सफा रहन थालेपछि त्यस्तो प्रकोपको समस्या हटेको छ ।

विश्व स्वास्थ्य संगठनको ८० प्रतिशतभन्दा बढी रोगहरू दूषित पानी पिउनाले लाग्ने र संसारभरका विकासोन्मुख देशहरूमा एकतिहाइ मानिसको मृत्यु दूषित पानीकै कारणबाट हुने तथ्यांक सन् २०१४ मा सार्वजनिक गरेको थियो । त्यस्तै सोही तथ्यांकमा एक व्यक्तिको उत्पादनशील समयको दशौँ भाग पानीसँग सम्बन्धित रोगहरूमा नै व्यतित हुन्छ भन्ने उल्लेख छ । जलस्रोतविज्ञहरूका अनुसार मानव शरीरमा लगभग ६० प्रतिशत तौल पानी हुन्छ र रगतमा ९० प्रतिशत पानी हुन्छ । त्यसैले पानी मात्र पिएर हुँदैन, स्वच्छ पानीको पहुँच र प्रयोग गर्न अति आवश्यक छ  ।

पानीलाई पनि स्वच्छ बनाउने हाम्रा हात भएको हुँदा हात सफा हुन जरुरी देखिन्छ । खाना खानु र बच्चालाई खुवाउनुअघि, खाना पकाउनुअघि वा पस्किनुअघि, सुचि गरसिकेपछि र फोहोर छोइसकेपछि साबुनपानीले २० सेकेन्डसम्म हात मिचीमिची धुने बानी बसाल्ने र कोभिड– १९ को महामारीबाट बच्न र बचाउन सकियोस् भन्ने हेतुले राष्ट्रिय अभियान १३ असोजबाट निरन्तर अगाडि बढिरहेको छ ।

‘गाउँमा पहिलेजस्तो झाडापखालाका बिरामी भेटिँदैनन्, गाउँमा सरसफाइमा ध्यान दिएका कारण पनि हुन सक्छ । पहिले यस समयमा धेरै बिरामी झाडापखालाका हुने गरेका थिए । अवस्था थामिनसक्नु थियो । अहिले त्यस्तो छैन । हामीले पहिले साबुनपानीले हात धुनुपर्छ भनेर गाउँमा चेतना दिन जाँदा मान्छेहरू हाँस्थे,’ स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य संयोजक पारस शाहीले बताए ।

गाउँ सफा बनाउन के गरियो ?

जिल्लामा सरसफाइ अभियान सञ्चालन गर्न विभिन्न संघसंस्थाले अभियान संचालन गरे । कार्यक्रम चलुन्जेल गाउँ सफा भए पनि कार्यक्रम सकिएपछि भने यो टिकेन । जब नेपाल सरसकारले त्यसलाई आफ्नो सरकारी कार्यक्रमका रूपमा अगाडि बढायो, तब जनता यसमा परिवर्तत भएका हुन् ।

‘पहिलेपहिले सरसफाइका कार्यक्रम सञ्चालन गर्दा हामीलाई नै कठिन भयो तर पछि गएर त्यसलाई सहज बनाउन पाइयो । राति पाले बसेरै खोलामा दिसा गर्न गएकाहरूलाई लखेट्नेदेखि दिसा आफैँ उठाएर पुर्नेसम्म गर्न लगायौँ । त्यसले गर्दा अहिले गाउँमा फोहोर छैन । विद्यालयमा पनि चर्पी बनेका छन् । खानेपानीको पर्याप्तता छ,’ फेडवासन नेपालका केन्द्रीय सदस्य शेरबहादुर शाहीले बताए ।

गैरसरकारी संस्था महासंघ बाजुराका अध्यक्ष अग्नि शाहीका अनुसार गाउँमा बनेका योजनाहरू स्थानीयहरूलाई आफ्नै हो भन्ने चेतना जगाउन नै कठिन थियो । योजना योजनाका लागि मात्र बन्ने र पछि बिगारेर भग्नावशेषमा परिणत गराएर छोड्थे । अहिले उनीहरूले नै सुरक्षा गर्ने गरेका छन् ।

अहिले उनीहरूले संरक्षण कोष बनाएर पानी बनाउँछन् । समुदायमा सरसफाइका क्रियाकलाप पनि तीव्र गतिमा छन् । पहिले साबुन किनेर दिइयो भने त्यही साबुन हुन्जेसम्म मात्र प्रयोग गर्थे, अहिले आफैँले किनेर प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित: बुधबार, भदौ ९, २०७८ ११:१८:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।