आज राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएर समाजवादउन्मुख संविधान बनिसक्दा पनि बहुदलीय जनवादलाई दिर्घकालीन रणनीति नारा बनाएर उही पुरानै रटान रटिराख्नु जडसुत्रीय दक्षिणपन्थी विचलन हो ।

केपी ओलीले यसको नेतृत्व गर्नु ठिकै हो । उहाँले आफूलाई दक्षिणपन्थी लाइनमा प्रष्ट खडा गरिसक्नुभएको छ । दलाल पुँजीवादका विरूद्ध संघर्ष, समाजवाद र अग्रगमनका चर्काचर्का क्रान्तिकारी भाषण गरेर नथाक्ने एमालेभित्रका दोस्रो तहका नेताहरूले कमरेड माधव नेपाललाई धोका दिएको चाहिँ पटक्कै सुहाएको छैन ।

प्रश्न चुनाव चिन्ह र नामको होइन । प्रश्न सही विचार, दृष्टिकोण, सही, लाइन र कार्यदिशा र कार्यक्रमको हो । जनताले अब नाम हेरेर होइन, आचार, विचार र काम हेरेर भोट हाल्ने स्तरको विकास गरिसकेको छ ।

अग्रगमन र पश्चगमन बिचको भेदगरी वार र पारको अहिलेको आन्दोलनमा अग्रगामी, विचार, लक्ष, विधि, विधान, मूल्य, मान्यता सबै छोडेर नाम र चुनाव चिन्ह उतै रह्यो भन्दै पुरातनवादी दक्षिणपन्थी धारतिरै अलमलिनु भनेको आखिर बाह्र वर्ष रामायण पढ्यो सीता कसको श्रीमती भनेजस्तो बुझपचाइ, घोर बेइमानी र अवसरवाद होइन र ?

ओली प्रवृत्तिसँगको विचार संघर्षमा तीन वर्षको यात्रामा सँगै हिँड्ने प्रक्रियामा एमालेका दोस्रो तहका नेताहरूको अभिव्यक्ति, अडान र वाचाबन्धनमा जुन अठोट र प्रतिबद्धता थियो, त्यसको ओज, गरिमा, विश्वास र क्रान्तिकारी आशावादलाई मारेर यति छिटै रच्छ्यानमा मिलाउनु चाहिँ राम्रो नहोला कि?

(लेखक नेकपा माओवादी केन्द्रका नेता हुनुहुन्छ ।)